`

कांग्रेसभित्र संकट गहिरिँदै : संस्थापन पक्षको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

Nepal One HD २५ पुष २०८२ १२:४०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको तीव्र आन्तरिक ध्रुवीकरण थप सतहमा आएको छ । पार्टी नेतृत्वले आजका लागि तय गरेको विशेष पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएको छ भने उता २५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई संवाद, सहमति र एकतामार्फत पार्टीलाई जनताको भरोसायोग्य शक्ति बनाउन आग्रह गरेका छन् ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेका थिए । तर निर्धारित समयभन्दा केहीअघि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा ‘विशेष कारणवश’ सम्मेलन स्थगित गरिएको जानकारी दिइयो । यस अचानक निर्णयले कांग्रेसभित्र चलिरहेको शक्ति संघर्ष र सहमतिको प्रयासबारे विभिन्न अड्कलहरू सुरु भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’ आह्वान गरेपछि कांग्रेस राजनीतिमा नयाँ तरङ्ग पैदा भएको हो । संस्थापन पक्षले यस कदमलाई पार्टी विधानविपरीत भएको ठहर गर्दै कार्यसम्पादन समितिबाटै महाधिवेशन प्रतिनिधिहरूलाई उक्त भेलामा सहभागी नहुन निर्देशन दिइसकेको छ ।

आजको पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशनको औचित्य नरहेको र नियमित महाधिवेशनबाटै पार्टी सुधार सम्भव रहेको सन्देश दिन नेतृत्वको तयारी थियो । स्रोतका अनुसार, नेतृत्व एकढिक्का रहेको सन्देश दिन डा. शेखर कोइरालासहितका शीर्ष नेताहरूलाई समेत एउटै मञ्चमा उभ्याउने योजना थियो । तर अन्तिम समयमा आएर सम्मेलन स्थगित हुनुले पार्टीभित्र सहमति खोज्ने प्रयास अझै जारी रहेको वा रणनीतिमा पुनर्विचार भएको संकेत गरेको छ । यसैबीच बिहीबार डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरी विशेष महाधिवेशनमा हतार गर्दा पार्टी एकतामा नकारात्मक असर पर्न सक्ने भन्दै विवाद मिलाउन आग्रह गरेका थिए ।

यही राजनीतिक उथलपुथलबीच कांग्रेसका २५ केन्द्रीय सदस्यले संयुक्त अपिल जारी गर्दै नेतृत्वलाई संवाद र सहमतिमार्फत पार्टीलाई थप सुदृढ बनाउन आग्रह गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूले कांग्रेसलाई जनताको विश्वसनीय र भरोसायोग्य पार्टीका रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन् । अपिलमा भनिएको छ, ‘२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात् गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानु आजको आवश्यकता हो । विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले लिखित निवेदन दर्ता गरिसकेको अवस्थालाई सम्मान गर्दै संवाद र सहमतिमार्फत वृहत् एकता कायम गरिनु पर्छ ।’

राजेन्द्र केसी, पुष्पा भुसाल, उदयशम्शेर राणा, गणेश लामा, डिला संग्रौला, अर्जुनप्रसाद जोशी, कर्णबहादुर बुढा, भरतकुमार शाहलगायतका केन्द्रीय सदस्यहरू उक्त अपिलमा हस्ताक्षर गर्दै पार्टीलाई परिणाममुखी र बलियो बनाउने पक्षमा उभिएका छन् ।
एकातर्फ विशेष महाधिवेशनलाई लिएर संस्थापन र महामन्त्रीहरूबीच टकराव बढिरहेको छ भने अर्कोतर्फ पार्टीभित्रैबाट एकता र संवादको आवाज पनि सशक्त बन्दै गएको छ । पत्रकार सम्मेलन स्थगित हुनु र केन्द्रीय सदस्यहरूको अपिल सार्वजनिक हुनुले कांग्रेस नेतृत्वमाथि अब आन्तरिक मतभेद समाधान गर्दै स्पष्ट दिशा तय गर्ने दबाब झन् बढाएको छ । आगामी दिनमा कांग्रेस कुन बाटो रोज्छ भन्ने चासो राजनीतिक वृत्तमा तीव्र बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *