`

एकताको दाबी र विभाजनको शंकाले कांग्रेसमा ‘तनाव’

Nepal One HD २५ पुष २०८२ १४:५९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद चर्किदै गएको छ । महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने दाबी गरिरहेका बेला सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूले भने यसले कांग्रेसलाई फुटतर्फ लैजाने निष्कर्ष निकालेका छन् । भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरिएको स्पष्ट पारे । उनले पार्टीभित्र देखिएको आशंका निराधार भएको बताउँदै विशेष महाधिवेशनकै माध्यमबाट कांग्रेस अझ सुदृढ र एकताबद्ध हुने दाबी गरे ।

‘विशेष महाधिवेशनले पार्टी फुट्दैन । पार्टी विभाजन गर्ने व्यवस्था नै विधानमा छैन’, उनले भने, ‘आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेस एकढिक्का भएर जान्छ, १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार हुनेछन् ।’ महामन्त्री शर्मा विशेष महाधिवेशनस्थलमा नेताद्वय चन्द्र भण्डारी र सुनिल शर्मालाई सँगै लिएर उपस्थित भएका थिए । यसलाई पार्टीभित्र एकताको सन्देश दिन खोजिएको संकेतका रूपमा हेरिएको छ । उनले विशेष महाधिवेशनको दिन अन्य गतिविधि हुनु अस्वाभाविक नभएको उल्लेख गर्दै हस्ताक्षर अभियानबारे पनि प्रष्ट पारे । उनका अनुसार सुरुमा हस्ताक्षर गर्ने ५४ प्रतिशत प्रतिनिधिमध्ये २४ जनाले नाम फिर्ता लिएका छन् भने विशेष महाधिवेशनका लागि करिब ५ सय नयाँ महाधिवेशन प्रतिनिधि थपिने अवस्था बनेको छ ।

तर, अर्कोतर्फ कांग्रेसको संस्थापन पक्ष भने विशेष महाधिवेशनप्रति गम्भीर असन्तुष्टि जनाइरहेको छ । शुक्रबार काठमाडौंको बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा आयोजित सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेलाले विशेष महाधिवेशनले पार्टी विभाजन हुने निष्कर्ष निकालेको हो । भेलामा केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेतसहित लक्ष्मी खतिवडा, किरण पौडेल, उर्मिला थपलिया, मदनकृष्ण श्रेष्ठ, गंगा अवाल र गणेश लामा सहभागी थिए । नेता कृष्ण सिटौलाले पनि भेलालाई सम्बोधन गरेका थिए । भेलापछि केन्द्रीय सदस्य गुरु बरालले विशेष महाधिवेशन रोक्नुपर्ने निष्कर्षमा पुगेको जानकारी दिए ।

‘भूराजनीति र राष्ट्रिय राजनीतिका जटिल अवस्थाबीच कांग्रेस विभाजन हुने खतरा बढेको छ’, उनले भने, ‘पार्टी कमजोर बनाउने कुनै पनि क्रियाकलाप रोक्न देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भएको छ ।’ भेलाले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पनि निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

उल्लेखनीय छ, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । यही निर्णयलाई लिएर कांग्रेसभित्र अहिले एकताका लागि विशेष महाधिवेशन आवश्यक भन्ने धार र यसले विभाजन निम्त्याउने भन्ने धार आमनेसामने देखिएका छन् । आगामी दिनमा यी दुई धारबीच सहमति जुट्छ वा विवाद अझ गहिरिन्छ, त्यसले कांग्रेसको भावी राजनीतिक यात्रालाई निर्णायक रूपमा प्रभावित गर्ने देखिन्छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *