`

कांग्रेसको विशेष महाधिवेशन शुरू : ६० प्रतिशत सहभागिताको दाबी

Nepal One HD २७ पुष २०८२ १२:४१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । बिहान साढे ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरू भएको छ भने साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिले दर्ता गराइसकेको आयोजक समितिले जनाएको छ ।

आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार देशभरबाट चयन भएका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये उल्लेख्य संख्याले बिहानै दर्ता गराएका छन् । सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरी दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि भृकुटीमण्डप मूलगेटसँगै राखिएका स्टलहरूमा दर्ताका लागि लामो लाइन देखिएको छ ।

जिल्ला तथा क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा ल्याउन आग्रह गरेका छन् । विभिन्न स्थानबाट आउने जुलुसका कारण दर्ता प्रक्रियामा केही ढिलाइ भए पनि यसले उद्घाटन कार्यक्रममा असर नपर्ने आयोजकको दाबी छ ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपको खुला चौरमा हुनेछ । उद्घाटन सत्रका लागि भव्य मञ्च निर्माण गरिएको छ भने मञ्च अगाडि खुला चौरमा ठूलो संख्यामा कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च क्षेत्र कांग्रेसको झण्डा, ब्यानर, गेट तथा विभिन्न प्रचार सामग्रीले सजाइएको छ ।

उद्घाटनका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा प्रवेश गराउने तयारी गरिएको छ । विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ। बन्दसत्रमा दुईवटा फरक–फरक प्रतिवेदन प्रस्तुत गरिने तयारी छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । आयोजक पक्षका अनुसार विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ । गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

संस्थापन पक्षले भने विशेष महाधिवेशन माग गरिएको अवधिभित्रै १५औं नियमित महाधिवेशनको मिति तोकिसकिएकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको तर्क गर्दै आएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पाँच केन्द्रीय नेताहरूले असहमति जनाउँदै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा ‘कांग्रेसलाई पुनर्जागरण गर्ने उद्देश्य’ सहित आयोजना गरिएको दुई दिने विशेष महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिमा कस्तो सन्देश दिनेछ भन्ने विषयमा राजनीतिक वृत्तको चासो बढेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *