`

कांग्रेस यथास्थितिमा चल्दैन, नेतृत्व परिवर्तन चाहिएको छ : गुरुराज घिमिरे

Nepal One HD २७ पुष २०८२ १५:०९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गुरुराज घिमिरेले पार्टी अब यथास्थितिमा अघि बढ्न नसक्ने स्पष्ट बताएका छन् । आज (बुधबार) विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व र नीतिगत परिवर्तन आवश्यक रहेको बताए ।

घिमिरेले भने, ‘जेनजी विद्रोहले पार्टीभित्रको सन्देश स्पष्ट पारेको छ। कांग्रेसलाई अब नयाँ नेतृत्व र नीति आवश्यक छ । ३६ वर्षको राजनीतिक यात्रा र अनुभवको गम्भीर समीक्षा गर्न आवश्यक छ। यो महाधिवेशन नै पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने ऐतिहासिक अवसर हो ।’

उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि महाधिवेशनमा सहभागी भएर एकताको सन्देश दिन आह्वान गरे । घिमिरेले यसरी भनिरहेका छन्, ‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उपस्थित भएर यो विशेष महाधिवेशनलाई १०० प्रतिशत सफल बनाउन आग्रह गर्दछु । मेरो तिक्ताको भण्डार रित्तिएको छ, तपाईंहरू पनि आउनुहोस् र आगामी संसदीय निर्वाचनमा कांग्रेसको दिग्विजय सुनिश्चित गर्न सहयोग गर्नुहोस् ।’

उनले पार्टीका साधारण सदस्य र संस्थापन पक्षका सबै नेताहरूलाई महाधिवेशनमा सहभागी भएर उत्सव मनाउन र पार्टी एकताबद्ध बनाउने पक्षमा उभिन पनि आग्रह गरे । उनले जोड दिए, ‘नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घकालीन जीवन र लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न ठूलो भूमिका राख्छन् । आज उनीहरूले यही विशेष महाधिवेशनको माग गरेका छन् । सबैले सहभागी भएर एकताको सन्देश दिन आवश्यक छ ।’ घिमिरेको यो अभिव्यक्तिले पार्टीभित्रको विद्यमान असन्तुष्टि र नेतृत्व परिवर्तनको आवश्यकता पुनः उजागर गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनले नेतृत्व, नीति तथा आगामी निर्वाचन रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *