‘घुमन्ते उम्मेदवार’ प्रचण्ड, यसपटक रुकुम पूर्वबाट निर्वाचन लड्ने टुंगो
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निश्चित गरेका छन् । उनी शनिबार रुकुम पूर्व पुगेका थिए ।
त्यहाँ पुगेर उनले आगामी २१ फागुनमा हुने निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्ने बताएका हुन् ।
हालै रुकुम पूर्वबाट काठमाडौं आएको पार्टीको एक प्रतिनिधिमण्डलले संयोजक दाहाललाई यसपटक चुनाव लड्न आग्रह गरेका थिए । त्यसअघि उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको थियो ।
रुकुमपूर्व पनि रुकुम पश्चिम र रोल्पाजस्तै १० वर्षे माओवादी युद्धको ‘इपिसेन्टर’ हो । उक्त युद्ध प्रचण्डकै नेतृत्वमा भएको थियो ।
प्रचण्डले अब पाचौँपटक निर्वाचन लड्ने क्षेत्र रुकुम पूर्वलाई नै रोजेका हुन् । यससँगै प्रचण्ड युद्धको केन्द्रमा निर्वाचन लड्न १८ वर्षपछि फर्किए ।
तत्कालीन नेकपा माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोपटक २०६४ सालमा संविधानसभा निर्वाचन हुँदा प्रचण्ड रोल्पा– २ मा उम्मेदवार भए । त्यसबेला उनी निर्वाचित भए ।
उनी विघटित प्रतिनिधिसभामा भने गोरखा–२ बाट निर्वाचित थिए । यसपटक त्यहाँबाट नेता लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ । उनले निर्वाचन लड्ने भएका छन् । उनी चुनावी अभियानमा सक्रिय भइसकेका छन् ।
प्रचण्डले २०७४ सालको प्रतिनिधिसभा निर्वाचन चितवन– ३ बाट जितेका थिए । २०७० को संविधानसभा निर्वाचन काठमाडौं–१० र सिरहा–३ बाट लडे । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहा–३ मा जितेका थिए ।
२०६४ मा भने उनी रोल्पा–२ सँगै काठमाडौं–१० बाट निर्वाचन लडेका थिए । दुवै ठाउँबाट उनी निर्वाचित भएका थिए । यसले प्रचण्ड घुमन्ते नेता भएको देखाउँछ ।
दाहाल निर्वाचन क्षेत्र मात्रै होइन, पार्टी नाम पनि उत्तिकै फेर्ने नेता हुन् । उनले युद्ध नेकपा माओवादी पार्टीको नाममा नेतृत्व गरे ।
२०६४ सालपछि संविधानसभामा पहिलो दल भइसकेपछि नारायणकाजी श्रेष्ठको नेकपा संयुक्तसँग एकता गरेपछि एकीकृत नेकपा माओवादी बनाए ।
२०७४ अघि माओवादीबाट पहिले विभाजित भएका दल वा समूहलाई एकता प्रक्रियामा ल्याएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे । गत मंसिरको तेस्रो सातादेखि भने विभिन्न दलहरूलाई एकता प्रक्रियामा ल्याएर नेपाली कम्युनिस्ट पार्टी बनाए ।
यसले पार्टी नाम पनि दाहाल उत्तिकै फर्ने नेता हुन् । कतिसम्म भने उनले नाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल दाहाल थिए ।
जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो ।
