आन्दोलन गर्न सक्यौ, शासन सत्ता चलाउन सकेनौं : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीमा व्यापक परिवर्तन आवश्यक रहेको र मात्र पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत ३४ वर्षको अनुभवलाई उद्धृत गर्दै भने, ‘ठूला पार्टीहरू मिलेर सरकार बनायौं, तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नु पर्यो ।’
भण्डारीले आफ्नो सम्बोधनमा देश अहिले संकटमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य प्रजातन्त्र जोगाउनु हो । देश अफ्यारो अवस्थामा छ र आगामी निर्वाचनमा हामीले एक ढिक्का भएर जानुपर्छ ।’ उनले पार्टीहरूले अब पद बाँड्नेभन्दा पार्टी निर्माण र नेतृत्व सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेता भण्डारीले यसअघि भएका विभिन्न आन्दोलनले केही उपलब्धि त ल्याएको तर शासन सञ्चालन गर्न नसक्दा देश संकटमा परेको बताए ।
उनले स्पष्ट पारे, ‘चलाख र सक्षम नेतृत्व नभए, जति पद दिए पनि मुलुक चल्दैन । हामीले समाजमा आशा जगाउन सकेनौं । आन्दोलन गर्न सक्यौं, शासन चलाउन सक्यौं भने वर्तमान संकट आउँदैनथ्यो ।’ भण्डारीले विशेष महाधिवेशनले कांग्रेस र देशको लागि योग्य नेतृत्व र स्पष्ट नीति तय गर्नुपर्ने बताए । ‘अब समाजमा आशा जगाउने बेला आएको छ । त्यसका लागि महाधिवेशनले सही निर्णय गर्नु आवश्यक छ’, उनले भने । उनको भनाइ अनुसार, आगामी दिनमा पार्टीले मात्र नभई राष्ट्रले पनि स्थिरता र विकासतर्फ अघि बढ्न सक्षम नेतृत्वको आवश्यकता छ ।
