`

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौं : प्रदीप पौडेल

Nepal One HD २७ पुष २०८२ १७:५२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जीवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन ।’ नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए । पौडेलले विधानले निर्दिष्ट गरेको विशेष महाधिवेशन भएकाले कार्यसम्पादन समितिले निर्देशित गर्न नसक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनामा नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो ।’ कांग्रेस नेताहरुले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको नेता पौडेलले बताए । बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन, बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुन्छ । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ । लोकतान्त्रिक पद्धतिका लागि संघर्ष गरेको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *