`

वैधानिक संकटमा देउवा, विशेष महाधिवेशनले कांग्रेसलाई कुन मोडमा लैजाला ?

Nepal One HD २८ पुष २०८२ ८:३३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा विरलै देखिने राजनीतिक उथलपुथल भृकुटीमण्डपमा देखिएको छ । चार वर्षअघि १४औं महाधिवेशनमा करिब ६० प्रतिशत मतका साथ शेरबहादुर देउवालाई सभापति बनाएका प्रतिनिधिहरू नै अहिले नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशनमा उभिएका छन् । यही दृश्यले कांग्रेसभित्र गहिरिँदो वैधानिक, नैतिक र राजनीतिक संकटलाई उजागर गरेको छ ।

विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको संख्या र उत्साहले देउवाको परम्परागत पकड कमजोर बन्दै गएको संकेत गरेको छ । आइतबार रातिसम्म ४,७४३ मध्ये २,६६२ प्रतिनिधि दर्ता भइसकेका छन् । आयोजकहरूका अनुसार सोमबार पुनः नाम दर्ता खुल्दा सहभागिता ६० प्रतिशत नाघ्ने सम्भावना छ । यही संख्यात्मक बलका आधारमा विशेष महाधिवेशन पक्षधरहरूले नेतृत्व र नीति दुवै परिवर्तनको दबाब तीव्र बनाएका छन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै यसमा सभापति वा कार्यवाहक सभापति सहभागी नहुने स्पष्ट पारेका छन् । कार्यसम्पादन समितिले दुई पटकसम्म अवैधानिक घोषणा गरिसकेको कार्यक्रमलाई स्वामित्व लिन नसकिने उनको तर्क छ । तर, पार्टीभित्रै संस्थापन खेमाका कतिपय नेताहरू भने आसन्न निर्वाचनको संघारमा विवाद चर्किदा पार्टीलाई गम्भीर क्षति पुग्ने चेतावनी दिँदै देउवालाई ‘निकास’ खोज्न सुझाव दिइरहेका छन् ।
यही द्वन्द्वका बीच सभापति देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक र शेखर कोइरालासँग निरन्तर परामर्शमा छन् । तर, एकातिर पद नछाड्न दबाब र अर्कोतिर बहुमत प्रतिनिधिको असन्तुष्टि—यी दुईबीच देउवा दोधारमा परेका देखिन्छन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका आक्रामक तर भावनात्मक सम्बोधनले थप उर्जाशील बन्यो । थापाले २०१४ सालमा सुवर्णशमशेरले बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गरेको ऐतिहासिक उदाहरण स्मरण गराउँदै देउवालाई समयमै निर्णय लिन आग्रह गरे ।

‘कहिलेकाहीँ युद्ध जित्न लडाइँ हार्नुपर्छ,’ थापाको भनाइ थियो, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, यो जिउँदा मान्छेको पार्टी हो ।’ महामन्त्री शर्माले विशेष महाधिवेशनलाई ‘भीड होइन, कांग्रेस बदल्न आएको जमात’ को संज्ञा दिँदै सुशासन, आत्मालोचना र पुस्तान्तरणको संकल्पसहित अघि बढ्ने घोषणा गरे ।

देउवाका विश्वासपात्र मानिने पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व सभामुख तारानाथ रानाभाटदेखि विभिन्न खेमाका नेताहरूको सहभागिताले असन्तुष्टि केवल युवा पुस्तामा सीमित नभएको स्पष्ट पारेको छ । गोपालमान श्रेष्ठले ‘इतिहासको ब्याजले भविष्य नबन्ने’ टिप्पणी गर्दै देउवालाई हठ त्याग्न आग्रह गरे ।

सोमबार बिहान सुरु हुने बन्दसत्रले कांग्रेसको आगामी बाटो तय गर्नेछ । ज्येष्ठ सदस्यको अध्यक्षतामा महामन्त्रीद्वयको प्रतिवेदनमाथि आठ समूहमा छलफल हुनेछ । नेतृत्व चयन नै मुख्य एजेण्डा भएकाले संस्थापन पक्षको सहभागिता वा अनुपस्थितिले परिणामलाई निर्णायक बनाउनेछ । विशेष महाधिवेशन पक्षधरहरू संस्थापनले स्वामित्व नलिए हलबाटै नयाँ नेतृत्व चयन गर्ने मनस्थितिमा देखिन्छन् ।

अनुशासित, व्यवस्थित र उत्साहपूर्ण देखिएको यो विशेष महाधिवेशनले कांग्रेसभित्र शक्ति सन्तुलन बदलिएको सन्देश दिएको छ । देउवाले समयमै राजनीतिक निकास खोजेर इतिहासमा सम्झौतावादी नेता बन्ने कि प्रतिनिधिहरूको दबाबमा पार्टी विद्रोहको बाटो रोज्ने–यो प्रश्नको उत्तर अब बन्द त्रले दिनेछ । जे होस्, भृकुटीमण्डपमा देखिएको दृश्यले कांग्रेस पुरानै ढाँचामा अघि बढ्न नसक्ने स्पष्ट संकेत गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *