विभाजनको जोखिममा कांग्रेस, विशेष महाधिवेशन–संस्थापन पक्षबीच वार्ता हुँदै
काठमाडौं । नेपाली कांग्रेसभित्र गहिरिँदै गएको आन्तरिक विवाद समाधानको निर्णायक प्रयासस्वरूप विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ता हुने भएको छ । नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग संवाद गर्न चार सदस्यीय वार्ता समिति गठन गरेका छन् ।
विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुनेछन् । संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने तयारी छ । वार्ताको समय र स्थान भने अन्तिम रूपले तोकिएको छैन, तर मंगलबार छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई औपचारिक मान्यता नदिने सन्देश दिँदै आएका छन् । यद्यपि, पार्टी विभाजनको जोखिम बढ्दै गएपछि संस्थापन पक्ष संवादतर्फ अघि बढेको हो । देउवाले आफूपक्षीय नेताहरूसँग परामर्शपछि वार्ताका लागि खड्का र लेखकलाई जिम्मेवारी दिएका छन् ।
विशेष महाधिवेशन पक्षले आफूहरूसँग ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गर्दै आएको छ । संस्थापन पक्षले बेवास्ता गरे आजैदेखि नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी समेत दिइएको छ । विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार यो प्रक्रिया पार्टी विधानअनुसार भएकाले वैधानिकतामा समस्या नहुने उनीहरूको अडान छ ।
वार्ता समितिका सदस्य देवराज चालिसेले भने, ‘हामी संवादका लागि पूर्ण रूपमा तयार छौं । सभापति देउवा पक्ष हठ त्यागेर आएमा पार्टीलाई एकताबद्ध राख्न अधिकतम लचकता अपनाउँछौं ।’ उनले वार्ताका लागि वार्ता मात्र होइन, विधानको सर्वोच्चता, राजनीतिक समाधान र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखिने स्पष्ट पारे ।
यसैबीच, कांग्रेसले मंगलबार केन्द्रीय समिति बैठक पनि बोलाएको छ । उता विशेष महाधिवेशन पक्षले समूहगत छलफल र नेतृत्व चयन प्रक्रिया अघि बढाउने कार्यक्रम सार्वजनिक गरिसकेको छ । दुवै पक्ष पार्टी फुटको पक्षमा नरहेकाले संवादबाट निकास खोज्ने प्रयास तीव्र बनेको देखिन्छ ।
आइतबार उद्घाटन सत्र र सोमबार बन्द सत्र सम्पन्न भइसकेको विशेष महाधिवेशनले अब नेतृत्व चयनको मोड लिने कि सहमतिमार्फत पार्टी एकताबद्ध रहने भन्ने प्रश्न आजको वार्ताले टुंगो लगाउने अपेक्षा गरिएको छ । कांग्रेसभित्रको यो शक्ति संघर्ष अब निर्णायक घडीमा पुगेको छ ।
