`

साँझ ५ बजेसम्मलाई थपियो उम्मेदवारी मनोनयनको समय, शुल्क नगदै बुझाउनु पर्ने

Nepal One HD २९ पुष २०८२ १५:५१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारी मनोनयनको समय थपिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले मनोनयनको समय थप गर्दै साँझ ५ बजेसम्मलाई कायम गरेको हो । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार दिउँसो ३ बजेसम्मका लागि समय दिइएकोमा अहिले साँझ ५ बजेसम्मका लागि थप भएको छ । कांग्रेसका संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचन कार्यक्रम अघि बढाइएको हो ।

संस्थापन पक्षबीच भएका छलफलले सार्थकता पाउन नसकेपछि महाधिवेशनले निर्वाचनको प्रक्रिया अघि बढाएको छ । विभिन्न १३ जना पदाधिकारी र १३३ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सकिने जनाइएको छ । यसैबीच उम्मेदवारी मनोनयनका लागि फारम लैजानेको संख्या सिट भन्दा धेरै भएपछि सर्वसम्मत बनाउने प्रयास भएको हो । ‘हामी सर्वसम्मत नेतृत्व चयनमा लाग्छौं,’ कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले भने ।

अहिले उम्मेदवारी मनोनयन दर्ताको क्रम धमाधम चलिरहेको छ । भृकुटीमण्डपमा आइतबारदेखि जारी महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । मतदान नै गर्नुपरेको खण्डमा आज बेलुका ९ बजेदेखि राति १ बजेसम्मका लागि समय छुट्ट्याइएको छ । मतदाताको नामावली प्रकाशन भइसकेको छ । यसअघि कायम रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या १०५ रहेकाले ४६३८ मतदाताको नामावली प्रकाशन भएको हो ।

निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेहरूलाई मनोनयन शुल्क नगदै लिएर आउन पनि भनेको छ । उम्मेदवारी दर्ता ५ बजेपछि मात्रै हुने जानकारी दिँदै समितिका कर्मचारीले भने, ‘दर्ता शुल्क नगदै ल्याउनु पर्छ क्युआर चल्दैन ।’ कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । आइतबारदेखि विशेष महाधिवेशन जारी छ । उता संस्थापन समूहका नेताहरू भने केन्द्रीय समिति बैठकमा छन् । त्यस्तै सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीचको वार्ता पनि सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *