विशेष महाधिवेशनले पार्टीलाई विभाजनतिर धकेल्यो : विजयकुमार गच्छदार
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् । मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू विशेष महाधिवेशनको विरोधी नभए पनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको बताए । उनले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनु पर्नेमा जोड दिए ।
उनले भने, ‘विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मैले मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रो हुन्थ्यो । तर त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पुर्याउनु हुँदैन । विभाजनमा पुर्याउनु हुँदैन, रोकिनु पर्छ ।’ केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमवार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।
