उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य सङ्कटमा
फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह ग्यास उत्सर्जन कटौतीको गति कायम राख्न नसकेको देखिएको छ । मङ्गलबार सार्वजनिक गरिएको सरकार–आयोगसँग सम्बन्धित एक अस्थायी पूर्वानुमानअनुसार देशले प्रतिज्ञा गरेका जलवायु लक्ष्यहरू पूरा गर्ने मार्गबाट बाहिरिँदै गएको सङ्केत देखिएको छ ।
फ्रान्सको इकोलोजी मन्त्रालयका लागि देशको ग्रिनहाउस ग्यास सूची तयार पार्ने गैर–नाफामूलक संस्था सिटेपाका अनुसार सन् २०२५ मा उत्सर्जन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसले करिब ५८ लाख टन कार्बन डाइअक्साइड बराबरको कमी जनाउँछ । तर सिटेपाले यो कमी सन् २०३० का लक्ष्य हासिल गर्न आवश्यक पर्ने गतिभन्दा निकै कम भएको र पछिल्ला वर्षहरूमा देखिएको मन्दीलाई थप लम्ब्याएको जनाएको छ ।
फ्रान्स सरकारले डिसेम्बरमा सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने अद्यावधिक मार्गचित्र सार्वजनिक गरेको थियो । सो लक्ष्यअनुसार सन् २०३० सम्म पुग्न प्रत्येक वर्ष औसतमा ४.६ प्रतिशतका दरले उत्सर्जन घटाउनुपर्ने आवश्यकता छ । तर हालको प्रवृत्तिले त्यो लक्ष्य पूरा गर्न कठिन हुँदै गएको देखिन्छ ।
यसअघि फ्रान्सले सन् २०२२ मा ३.९ प्रतिशत र सन् २०२३ मा ६.८ प्रतिशतले उत्सर्जन कटौती गर्न सफल भएको थियो । तर सन् २०२४ मा यो दर उल्लेखनीय रूपमा घट्दै १.८ प्रतिशतमा सीमित रह्यो । सिटेपाले सुरुमा सन् २०२५ का लागि मात्र ०.८ प्रतिशत कटौतीको अनुमान गरेको थियो । तर पछिल्ला तथ्याङ्क र गणना विधिहरूको अद्यावधिकले पूरै वर्षका लागि ‘अझ सही’ अनुमान सम्भव भएको संस्थाले जनाएको छ ।
उद्योग, कृषि र यातायातजस्ता उच्च उत्सर्जन गर्ने क्षेत्रमा केही सुधार देखिएको भए पनि ऊर्जा उत्पादन र फोहोर प्रशोधन क्षेत्र भने प्रायः स्थिर अवस्थामा रहेको सिटेपाको भनाइ छ । यी क्षेत्रहरूलाई कम कार्बनतर्फ रूपान्तरण गर्नु फ्रान्सजस्ता औद्योगिक देशहरूका लागि ठूलो चुनौती बनेको छ । फ्रान्सलाई कम कार्बन भविष्यतर्फको सङ्क्रमणमा नेतृत्व गर्ने प्रमुख अर्थतन्त्रका रूपमा हेरिँदै आएको छ ।
यो पछिल्लो मूल्याङ्कनले फ्रान्सले जीवाश्म इन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने आवश्यकतालाई अझ स्पष्ट बनाएको क्लाइमेट एक्सन नेटवर्क फ्रान्सकी निर्देशक एनी ब्रिङ्गल्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अब जलवायु जोखिमलाई गम्भीरताका साथ लिने समय भइसकेको छ । साथै, हामी जीवाश्म इन्धनमा अत्यधिक निर्भर छौँ, जुन ठूलो मात्रामा आयात गरिन्छ, यसले भूराजनीतिक जोखिम पनि बढाएको छ ।”
विश्व तापक्रम वृद्धिलाई तीव्र बनाउने तातो–ट्र्याप गर्ने उत्सर्जनमा छिटो र गहिरो कटौती गर्न ठूला र ऐतिहासिक रूपमा प्रदूषण गर्ने राष्ट्रहरू बढ्दो दबाबमा छन् । फ्रान्सको अवस्था छिमेकी जर्मनीसँग पनि मेल खान्छ । जर्मनीमा सन् २०२५ मा उत्सर्जन मात्र १.५ प्रतिशतले घटेको भन्दै ऊर्जा नीतिसम्बन्धी विशेषज्ञ समूह एगोरा एनर्जीभेन्डेले गत हप्ता आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो ।
युरोपेली सङ्घ (इयु) ले सन् १९९० को स्तरको तुलनामा सन् २०४० सम्म आफ्नो शुद्ध हरितगृह ग्यास उत्सर्जन ९० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ । इयुले सन् २०२३ सम्ममा यस दिशामा ३७ प्रतिशत कटौती हासिल गरिसकेको बताइएको छ ।
