`

देउवाको गगन–विश्वप्रकाशलाई आग्रह : पार्टी नफुटाऊ

Nepal One HD ३० पुष २०८२ ११:२६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किंदै गएको आन्तरिक विवादका बीच सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भावुक अपिल गर्दै पार्टी नफुटाउन आग्रह गरेका छन् । बुधबार बिहान आफ्नै निवास महाराजगञ्जमा करिब एक घण्टा चलेको छलफलमा देउवाले आफू अत्यन्त उदार बन्न तयार रहेको उल्लेख गर्दै हस्ताक्षर अधिकारदेखि नेतृत्व हस्तान्तरणसम्मका विषयमा लचकता देखाएका थिए । तर महामन्त्रीद्वयले तत्काल नेतृत्व छाड्नु पर्ने अडान नछाडेपछि वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।

वार्तामा सहभागी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार सभापति देउवाले निकै भावुक शैलीमा पार्टी एकतामै रहनुपर्ने धारणा राखेका थिए । ‘पार्टी फुट्नु हुँदैन । म अब सभापति हुने पनि होइन । वैशाखमा तपाईं जो कोही पनि सभापति हुन सक्नु हुन्छ’, देउवाको भनाइ उद्धृत गर्दै महतले सुनाए । देउवाले पार्टीको निर्वाचन प्रक्रियामा हस्ताक्षरको अधिकार आफूले मात्र प्रयोग गर्नुपर्ने भन्ने अडान नरहेको स्पष्ट पारेका थिए । ‘हस्ताक्षरको विषय समस्या हो भने, म पार्टीका जुनसुकै नेतालाई त्यो अधिकार दिन तयार छु’, उनले भनेको महतले जानकारी दिए । समानुपातिक र राष्ट्रिय सभाको हकमा आफ्नै हस्ताक्षर प्रयोग भइसकेको र प्रत्यक्ष निर्वाचनमा पनि निर्वाचन आयोगलाई समस्या नपरे अन्य नेताले हस्ताक्षर गर्न सक्ने उनको भनाइ थियो ।

‘मलाई चुनावै लड्न नदिने भन्या हो ?’
वार्ताका क्रममा देउवाले महामन्त्रीहरूसँग अर्को चासो पनि राखेका थिए । पार्टीभित्र आफूलाई चुनाव लड्न नदिने तयारी भइरहेको चर्चा सत्य हो कि होइन भनेर उनले प्रत्यक्ष प्रश्न गरेका थिए । ‘सभापति ज्यूले ‘तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ?’ भनेर सोध्नु भयो’, प्रवक्ता महतले संवाद उद्धृत गर्दै सुनाए । महामन्त्रीद्वयले त्यस्तो नसोचेको स्पष्ट पारे पनि उनीहरूले देउवालाई ‘संरक्षक’ भूमिकामा बस्न सुझाव दिएको महतले बताए । महामन्त्रीहरूको तर्क थियो–सभापतिले औपचारिक रूपमा ‘छाड्नुस्’ भन्नु पर्ने अवस्था नरहे पनि अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण हुनुपर्छ । तर देउवाको बुझाइमा आफू अहिले पनि संरक्षककै भूमिकामा रहेको र त्यसलाई अनावश्यक विवादको विषय बनाइएको थियो ।

विशेष महाधिवेशनले बढायो तनाव
कांग्रेसभित्रको विवाद केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णयसँगै चर्किएको हो । उक्त निर्णय अस्वीकार गर्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको आह्वान गरेपछि पार्टी औपचारिक रूपमा दुई धारमा विभाजित देखिएको छ । पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन अहिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ । यही प्रक्रियाले पार्टी विभाजनको खतरा बढेको भन्दै देउवाले ‘पार्टी बचाउन’ अन्तिम प्रयासस्वरूप वार्ता गरेको नेताहरूको बुझाइ छ ।

निष्कर्षविहीन भेट
लामो छलफलका बाबजुद महामन्त्रीद्वयले तत्काल कुनै निष्कर्ष दिन नसक्ने भन्दै ‘अन्य नेताहरूसँग सल्लाह गरेर फर्किने’ बताएका थिए । त्यसपछि वार्ता टुंगिएको थियो । सभापति देउवाले आफू हिजोदेखि नै उदार भएर अघि बढिरहेको दाबी गर्दै ‘किन यस्तो भइरहेको छ ? पार्टी नफुटोस्, कांग्रेस बचोस्’ भन्ने नै आफ्नो मूल चाहना भएको बताएका थिए । तर नेतृत्वको प्रश्नमा सहमति नजुट्दा कांग्रेसभित्रको संकट थप गहिरिने संकेत देखिएको छ । वार्तामा सहभागी कांग्रेसका प्रवक्ता प्रकाशरण महतले भने, ‘हामी पनि थियौँ, उहाँले पूरै भावुक भएर कुरा राख्नु भएको छ ।’

देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘पार्टी फुट्नु हुँदैन । म उदार हुन तयार छु । हस्ताक्षरको समस्या हो भने त्यसलाई समस्याका रूपमा लिनु पर्दैन । जुनसुकै नेतालाई पनि हस्ताक्षरको अधिकार दिन तयार छु । केन्द्रीय समितिको निर्णअनुसार पहिला मेरै हस्ताक्षरमा गयो । समानुपातिक सूचीमा पनि गइसक्यो । अहिले प्रत्यक्ष निर्वाचनको बाँकी हो । त्यसमा चाहिँ निर्वाचन आयोगलाई समस्या छैन भने म पार्टीका जुनसुकै नेतालाई हस्ताक्षरको अधिकार दिन तयार छ ु। पार्टी नफुटाऊ। म अब (सभापति) हुने पनि होइन। वैशाखमा तपाईं जो कोही पनि हुन सक्नु हुन्छ । किन यसो गर्नुहुन्छ, नगर्नुस् ।’

तर महामन्त्रीद्वयले अहिल्यै नेतृत्व छाड्न जिकिर गरेपछि वार्ता बिनानिष्कर्ष सकिएको प्रवक्ता महतले बताए । बुधबार बिहान देउवा निवासमा उनीहरूबिच १ घण्टाजति वार्ता भएको थियो । केन्द्रीय कार्यसमितिको बहुमतले पार्टीको पन्धौँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय नमानेर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसमा विवाद भइरहेको छ । पुस २७ देखि काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन २९ गतेदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *