`

फुटको संघारमा कांग्रेस, दुई महामन्त्रीलाई कारवाहीको तयारी

Nepal One HD ३० पुष २०८२ १२:०८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक सत्ता संघर्षको निर्णायक मोडमा पुगेको छ । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका तत्काल नछाड्ने अडान लिएपछि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ भने अर्कोतर्फ संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्ने तयारी थालेको छ ।

सोमबारदेखि निरन्तर चलेका छलफलहरू सहमतिमा नपुगेपछि कांग्रेस औपचारिक रूपमा विभाजन उन्मुख भएको संकेत देखिएको छ । आज सानेपामा बस्दै गरेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वयमाथि कारबाही प्रस्ताव लैजाने तयारी भएको एक केन्द्रीय नेताले जानकारी दिए । उता भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा गगन थापाले सभापति पदका लागि उम्मेदवारीसमेत दर्ता गराइसकेका छन् ।

देउवा–महामन्त्री वार्ता असफल
विशेष महाधिवेशन अघि आज बिहान महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास पुगेका थिए । बालकृष्ण खाँण र रमेश लेखक समेत सहभागी छलफल करिब एक घण्टा चले पनि सहमति जुट्न सकेन । महामन्त्रीद्वयले पार्टीलाई ‘हाईकमाण्ड’ प्रणालीमार्फत सञ्चालन गर्दै सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा सीमित राख्ने प्रस्ताव गरेका थिए । उनीहरूको तर्क थियो–नेतृत्व बदलिएको स्पष्ट सन्देश नदिँदासम्म विशेष महाधिवेशनको औचित्य रहँदैन ।

तर देउवाले आफू तीन महिनापछि १५ औं महाधिवेशनबाट नेतृत्व छाड्न तयार रहेको भन्दै तत्काल कार्यकारी भूमिका छाड्न अस्वीकार गरे । उनले प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणको अधिकार पार्टीका अन्य नेताहरूलाई दिन सकिने संकेत गरे पनि सभापति पद नछाड्ने अडान कायम राखे । भावुक हुँदै उनले महामन्त्रीद्वयलाई पार्टी नफुटाउन आग्रह समेत गरेका थिए।

निर्वाचन, टिकट र वैधताको बहस
महामन्त्रीद्वयले अहिलेको राजनीतिक परिस्थिति, जेनजी पुस्ताको भावनाअनुसार पार्टीले सन्देश दिनुपर्ने र आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न सक्ने नेतृत्व आवश्यक भएको तर्क अघि सारे । ‘निर्वाचन नभएको भए यो अवस्था आउने थिएन’, भन्दै उनीहरूले नेतृत्व परिवर्तनलाई समयको मागका रूपमा प्रस्तुत गरेका थिए ।

संस्थापन पक्षका नेता रमेश लेखकले भने टिकटमा सभापतिको हस्ताक्षर नहुने विषयमा समेत सहमतिको बाटो खुलेको दाबी गरे । निर्वाचन आयोगसँग परामर्शपछि कानुनी रूपमा सम्भव भए हस्ताक्षर फिर्ता लिन सभापति तयार रहेको उनको भनाइ थियो । तर विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यो प्रस्ताव अस्वीकार गरे ।

‘नेतृत्व बदलिएको सन्देश’ बिना औचित्य छैन
केन्द्रीय सदस्य प्रदीप पौडेलले कार्यबाहक सभापति, महामन्त्रीद्वय र शेखर कोइरालासहितको हाईकमाण्ड बनाएर पार्टी सञ्चालन गर्ने प्रस्ताव अस्वीकार भएपछि नयाँ नेतृत्व चयनमा जानु बाहेक विकल्प नरहेको बताए । ‘दुई महिनापछि नेतृत्व छाड्ने भनिए पनि अहिले नै स्पष्ट सन्देश नदिँदा विशेष महाधिवेशनको औचित्य सकिन्छ’, उनको भनाइ थियो । यता केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको एकता प्रयास ‘भेन्टिलेटर’ मा पुगेको टिप्पणी गरेका छन्। ‘अन्तिम प्रयास होला, तर धेरै आशा गर्ने अवस्था छैन’, उनले भने।

एकातिर भृकुटीमण्डपमा विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतर्फ सानेपामा केन्द्रीय कार्यसमितिबाट महामन्त्रीद्वयमाथि कारबाहीको तयारी भइरहेको छ । यही द्वन्द्वले नेपाली कांग्रेसलाई फुटको संघारमा पुर्‍याएको विश्लेषण पार्टीभित्रै हुन थालेको छ । अब कांग्रेस कुन बाटो रोज्छ-सम्झौतामार्फत एकता जोगाउने कि विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै विभाजनको जोखिम मोलेर अघि बढ्ने-यसको फैसला केही घण्टा र दिनमै हुने देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *