निर्वाचन आयोगमा देउवा र गगन–विश्वको छुट्टाछुट्टै पत्र, आधिकारिकता कसलाई ?
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता कसले पाउने भन्ने विषयमा विवाद चुलिँदै जाँदा निर्वाचन आयोगमा दुई पक्षबाट फरक–फरक पत्र पुगेका छन् । एकातिर विशेष महाधिवेशन पक्षधर नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूकै नेतृत्वबाट निर्वाचित समिति नै आधिकारिक कांग्रेस हुने दाबी गरेका छन् भने अर्कोतिर पार्टी सभापति शेरबहादुर देउवाले उनीहरूलाई कारबाही गरिएको निर्णय आयोगमा पठाएका छन् ।
विशेष महाधिवेशन पक्षका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले बहुमत महाधिवेशन प्रतिनिधि काठमाडौंको भृकुटीमण्डपमा उपस्थित रहेको दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन् । पत्रमा विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व नै वैधानिक हुने उल्लेख गरिएको छ । साथै, यसअघि रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी पनि उनीहरूले गरेका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षबाट पत्र प्राप्त भइसकेको पुष्टि गर्दै अहिले ती पत्र राजनीतिक शाखामा अध्ययनको प्रक्रियामा रहेको जानकारी दिए । उनका अनुसार आयोगले कानुनी र प्रक्रियागत आधारमा विषयको परीक्षण गर्नेछ ।
यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई विधानविपरीत ठहर गर्दै कडा कदम चालेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । उक्त निर्णयसहित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा औपचारिक पत्र पठाइसकेका छन् ।
कांग्रेस प्रचार–प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेसको विधान २०१७ को धारा २२ उपधारा २० तथा धारा ३४ को उपधारा ८ अन्तर्गत उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन आयोजना गरिएको आरोप लगाउँदै कारबाही गरिएको उनको भनाइ छ ।
यसबीच, भृकुटीमण्डपमा पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशन निरन्तर जारी छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । कांग्रेस सभापतिका लागि गगन थापाले उम्मेदवारी दिएका छन् भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन् । आजै राति ८ बजेदेखि मतदान कार्यक्रम तय गरिएको छ ।
दुवै पक्षले आफू नै वैधानिक र आधिकारिक कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगको ढोका ढक्ढक्याएपछि अब आयोगको निर्णयले कांग्रेसको भावी दिशा तय गर्ने देखिएको छ । पार्टीभित्रको यो द्वन्द्वले राष्ट्रिय राजनीतिमा समेत ठूलो असर पार्ने आंकलन गरिएको छ ।
