`

गगन थापा बने कांग्रेस सभापति, को-को बने पदाधिकारी?

Nepal One HD ३० पुष २०८२ २३:५५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको छ ।

आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापति बनेका हुन्।

पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत भएका हुन् ।

यस्तै सहमहामन्त्रीमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

जेनजी आन्दोलनपछि समयमा नियमित महाधिवेशन हुन नसकेको भन्दै १४औं महाधिवेशनबाट निर्वाचित महामन्त्री द्वय थापा र शर्माको अगुवाईमा दोस्रो विशेष महाधिवेशन आयोजना भएको हो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आव्हान गरेको र बहुमत प्रतिनिधि सहभागी भएको आयोजकले दाबी गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले भने यो महाधिवेशनलाई मान्यता दिएको छैन । देउवा पक्षले आजै केन्द्रीय कार्यसमितिको बैठकबाट थापा, शर्मा र मन्सुरलाई पाँच वर्षसम्म पार्टीमा फर्कन नसक्ने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

अब काँग्रेसमा देउवा वा थापा को आधारिक नेतृत्व भन्ने विवाद सुरू भएको छ । दुवै पक्षले निर्वाचन आयोगमा आफ्नो नेतृत्वलाई आधिकारिता दिन माग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *