`

गुट भन्दा विधान रोजेकी पुष्पा : शैलाजापछि कांग्रेसको दोस्रो महिला उपसभापति

Nepal One HD १ माघ २०८२ १३:५२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा लामो समयसम्म सभापति शेरबहादुर देउवा निकट मानिएकी पुष्पा भुसाल अहिले पार्टी रूपान्तरणको धारमा उभिँदै केन्द्रीय उपसभापतिमा उदाएकी छन् । बुधबार सम्पन्न विशेष महाधिवेशनले उनलाई शैलजा आचार्यपछि कांग्रेसको दोस्रो महिला उपसभापति बनाएको छ ।

विशेष महाधिवेशनमार्फत उदाएको यो नेतृत्व परिवर्तन केवल पदको फेरबदल मात्र होइन, कांग्रेसभित्रको शक्ति सन्तुलन र राजनीतिक दिशाको संकेत पनि हो । कुनै समय देउवा समूहभित्रै रहेर केन्द्रीय सदस्य, सांसद र प्रतिनिधिसभाकी उपसभामुख बनेकी भुसाल पछिल्लो चरणमा संस्थापन पक्षबाट अलग हुँदै गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको पार्टी रूपान्तरणको एजेण्डामा उभिइन् ।

जेन–जी आन्दोलनपछिको राजनीतिक दबाब, चुनाव घोषणापछि उठेको पार्टी सुधारको बहस र विधानअनुसार महाधिवेशन हुनुपर्ने मागले कांग्रेसभित्र स्पष्ट दुई धार बनायो । यही सन्दर्भमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग अघि बढ्दा देउवा पक्षका केन्द्रीय सदस्यहरूको एउटा समूहको नेतृत्व पुष्पा भुसालले नै गरिन् । अन्ततः देउवा समूह महाधिवेशनमा नआउने निश्चित भएपछि उनी विशेष महाधिवेशनमा सहभागी भइन् र नयाँ नेतृत्व टिमको उपसभापतिमा निर्वाचित भइन् ।

विशेष महाधिवेशनको उद्घाटन सत्रमै उनले पार्टी विधानभन्दा माथि कोही नहुने स्पष्ट सन्देश दिएकी थिइन् । ‘अब कांग्रेस गुट र कृपाबाट मुक्त हुनुपर्छ’, भन्ने उनको अभिव्यक्तिले उनको राजनीतिक मोडलाई स्पष्ट पारेको थियो । उपसभापतिमा निर्वाचित भएपछि पनि उनले शैलजा आचार्यलाई सम्झँदै कांग्रेसलाई ‘दुबोसरी फैलिने, जनताको पार्टी’ बनाउने प्रतिबद्धता दोहोर्‍याइन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–पोखराथोकमा जन्मिएकी पुष्पा भुसालको जीवन कथा नेपाली कांग्रेसकै उतारचढावसँग गाँसिएको छ । २०१७ साल फागुन १ गते जन्मिएकी उनी बीपी कोइरालाको मन्त्रिपरिषद्मा मन्त्री रहेका काशीनाथ गौतमकी छोरी हुन् । पञ्चायतकालमा परिवारसहित भारत निर्वासन जानुपरेको अनुभवले उनको राजनीतिक चेतना सानैदेखि निर्माण भयो ।

कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी भुसालले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष अध्यापन गरिन् । वरिष्ठ अधिवक्ताका रूपमा कानुनी अभ्यास गर्दै सामाजिक न्याय, महिला अधिकार र समावेशिताका पक्षमा उनको निरन्तर संलग्नता रह्यो । २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी महिला संघकी महासचिव, पार्टीको कानुन विभाग सदस्य हुँदै केन्द्रीय राजनीतिमा स्थापित भइन् ।

२०६४ सालमा अर्घाखाँचीबाट संविधानसभा सदस्य निर्वाचित भई अन्तरिम संविधान र संविधान मस्यौदा समितिमा काम गर्नु उनको राजनीतिक यात्राको महत्वपूर्ण मोड बन्यो । २०७० र २०७९ मा प्रत्यक्ष चुनाव पराजित भए पनि उनी राजनीतिबाट अलग भइनन् । २०७४ मा समानुपातिक सांसद बनेर प्रतिनिधिसभाकी उपसभामुखको जिम्मेवारी सम्हालिन् ।

लगातार हार–जितका बीच पनि ५० वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएकी भुसालले ‘महिला नेताहरू हारपछि हराउँछन्’ भन्ने भाष्यलाई चुनौती दिएकी छन् । विशेष महाधिवेशनबाट उपसभापतिमा उदाउँदै उनले कांग्रेसलाई युवा र महिलामैत्री बनाउने, वैदेशिक पलायन र महिला हिंसाका मुद्दामा स्पष्ट हस्तक्षेप गर्ने संकल्प सार्वजनिक गरेकी छन् । देउवा निकटताबाट अलग हुँदै पार्टी रूपान्तरणको केन्द्रमा पुगेकी पुष्पा भुसाल अब नेपाली कांग्रेसको आगामी राजनीतिक दिशामा निर्णायक भूमिकामा देखिने छिन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *