शेखर कोइरालाको आह्वान : जित–हार कसैको छैन, सबै घर फर्कौ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र असहमतिको अन्त्य गर्दै सबै नेता–कार्यकर्तालाई कांग्रेसभित्रै फर्किन आह्वान गरेका छन् । उनले हालको परिस्थितिलाई जित–हारको रूपमा नभई साझा उत्तरदायित्व र भविष्य निर्माणको अवसरका रूपमा बुझ्न आग्रह गरेका छन् ।
बिहीबार जारी गरिएको वक्तव्यमा डा. कोइरालाले पार्टीलाई एकतावद्ध राख्न गरिएको प्रयास अपेक्षित रूपमा सफल हुन नसकेको स्वीकार गरेका छन् । पार्टीभित्र देखिएका आन्तरिक कमजोरी, दृश्य तथा अदृश्य अन्तरविरोध र जटिल राजनीतिक परिस्थितिका कारण कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसकेको यथार्थलाई उनले ‘नियतिको कठोर सत्य’ का रूपमा व्याख्या गरेका छन् ।
उनले राजधानी केन्द्रित राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका षड्यन्त्र र कांग्रेसलाई कमजोर पार्न चाहने शक्तिहरूको चलखेललाई पनि संकेत गर्दै ती प्रयासलाई प्रभावकारी रूपमा रोक्न नसकिएको स्वीकार गरेका छन् । ‘हामी सबै कहीँ न कहीँ चुकेका छौं’, भन्दै उनले आत्मालोचना समेत गरेका छन् । यद्यपि, डा. कोइरालाले पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।
उनले सुधार, आत्मसमीक्षा र संगठन सुदृढीकरण कांग्रेसको निरन्तर एजेण्डा भएको उल्लेख गर्दै अब सबैले व्यक्तिगत असन्तुष्टि थाती राखेर सामूहिक लक्ष्यतर्फ अघि बढ्नु पर्नेमा जोड दिएका छन् । उनको वक्तव्यमा भनिएको छ, ‘म आह्वान गर्छु– हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जित–हार कसैको छैन । सबैका लागि विन–विनको अवस्थामा हामी अगाडि बढ्न सक्छौं ।’ आगामी चुनावलाई केन्द्रमा राख्दै उनले कांग्रेसका नेता–कार्यकर्तालाई एकढिक्का भएर जनतामा जाने र पार्टीलाई पुनः बलियो बनाउने अभियानमा जुट्न आग्रह गरेका छन् । डा. कोइरालाको यो अपिललाई कांग्रेसभित्र बढ्दो असन्तुष्टि र गुटगत तनावबीच एकता कायम गर्ने महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ ।

