समानुपातिक सूची संशोधन र दस्तखत आवधिक गर्ने गगन कांग्रेसको निर्णय
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले संगठन र निर्वाचन तयारीलाई एकसाथ अघि बढाउने निर्णय गर्दै औपचारिक प्रक्रिया तीव्र बनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको घोषणा पत्र निर्माण, निर्वाचन परिचालन, अभिलेख अद्यावधिक र समानुपातिक सूची संशोधनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
ललितपुरस्थित एक होटलमा बिहीबार बसेको बैठकले पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति गठन गर्ने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता देवराज चालिसेले बदलिँदो राजनीतिक परिवेशअनुसार सच्चिएको र सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित घोषणा पत्र तयार गरिने बताए । उनका अनुसार आगामी निर्वाचनलाई केन्द्रमा राख्दै देशभरका पार्टी पंक्तिलाई सक्रिय रूपमा परिचालन गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
साथै दोस्रो विशेष महाधिवेशनपछि पार्टीका पुराना अभिलेखलाई प्रतिस्थापन गर्दै नयाँ आवधिक अभिलेख तयार गर्ने, उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत अद्यावधिक गर्ने र समानुपातिक सूची संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रवक्ता चालिसेले बैठक अझै निरन्तर रहने जानकारी दिँदै विशेष महाधिवेशनमा सहभागी कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरिएको बताए । ‘संस्थापक नेताहरूले देखाएको बाटो, शहीदहरूको बलिदान र वर्तमान आवश्यकता समेट्दै काँग्रेसलाई निर्वाचनमा अझ सक्षम बनाउने निर्णयहरू भएका छन्’, उनले भने ।
यसैबीच, पार्टीको नयाँ नेतृत्वले औपचारिक मान्यता लिन निर्वाचन आयोग जाने तयारी समेत पूरा गरेको छ । महामन्त्री गुरुराज घिमिरेले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतासम्बन्धी पत्र प्राप्त भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश गरिने स्पष्ट पारे । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकपछि प्रतिक्रिया दिँदै घिमिरेले भने, ‘हामी आजै निर्वाचन आयोग जान्छौं । आवश्यक कागजात प्राप्त भएपछि सानेपा जान्छौं ।’
बैठकले विधान पारित भएको प्रमाण, चुनावी प्रयोजनका लागि हस्ताक्षर परिवर्तन, समानुपातिक सूची अद्यावधिकसम्बन्धी निवेदन तथा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ । पुस २७ देखि ३० सम्म चलेको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै कांग्रेसले संगठनात्मक पुनर्संरचना र निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाएको स्पष्ट संकेत दिएको छ ।
