देउवा पक्षका कसैप्रति ‘गालीगलौज’ नगर्न गगन–विश्वको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेका बेला गगन थापा–विश्वप्रकाश शर्मा समूहले शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तामाथि कुनै पनि प्रकारको गालीगलौज नगर्न स्पष्ट निर्देशन दिएको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म संयम अपनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक सर्कुलर नै जारी गरिसकेको उक्त समूहका एक पदाधिकारीले बताएका छन् ।
उनका अनुसार भविष्यमा पार्टीको आधिकारिकता कसको पक्षमा आए पनि सबैलाई समेटेर अघि बढ्नु पर्ने भएकाले अहिले नै कटु शब्द प्रयोग नगर्न नेतृत्वले सचेत गराएको हो । ‘भोलि हामीले आधिकारिकता पाए पनि पार्टी एकताबद्ध बनाएर लैजानु पर्छ । त्यसैले अहिले अर्को पक्षमा रहेका नेताहरूलाई लक्षित गरेर गालीगलौज नगर्न सभापति र उपसभापतिले निर्देशन दिनु भएको छ,’ ती पदाधिकारीले भने ।
यसअघि देउवा पक्षले भने गगन थापा पक्षका नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमा अपशब्द प्रयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यही विवादका बीच बिहीबार दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्। गगन थापा नेतृत्वको समूह आधिकारिकता दाबी गर्दै आयोगभित्र छलफलमा जुटेको थियो भने शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ता आयोग बाहिर नाराबाजी गर्दै उपस्थित भएका थिए । देउवा समूहले ‘विशेष महाधिवेशन चिन्दैनौं’, ‘शेरबहादुर देउवा जिन्दावाद’ र ‘नेपाली कांग्रेस जिन्दावाद’का नारा लगाएका थिए ।
आयोगभित्र छलफल सकेर गगन थापा समूह बाहिरिँदा उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री प्रदीप पौडेललाई फोन गरेर बाहिरिन आग्रह गरेको बताइएको छ । यद्यपि, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कार्यकर्तालाई आयोग परिसर नछाड्न आग्रह गर्दै गेटमै रोक्न खोजेका थिए । प्रहरीले भने सुरक्षा कारण देखाउँदै परिसर खाली गर्न निर्देशन दिइरहेको थियो ।
निर्वाचन आयोगको कार्यालय र गेट वरिपरि दुवै पक्षका कार्यकर्ताको बाक्लो उपस्थिति भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । पार्टीको आधिकारिकतासम्बन्धी निर्णय निर्वाचन आयोगले गर्ने भएकाले अबको केही समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा थप तनाव र प्रतीक्षा दुवै रहने देखिएको छ ।
