इजरायल र इरानका नेतासँग रुसी राष्ट्रपति पुटिनको फोनवार्ता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इजरायल र इरानका नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । इरानमा भएको राष्ट्रव्यापी सरकार विरोधी प्रदर्शनको कडा जवाफमा इरानी सुरक्षा बलले गरेको कारबाहीमा हजारौँको मृत्यु भएको खबरहरू बाहिरिएपछि रूसी नेताले इरानी र इजरायली अधिकारीसँग फोनवार्ता गरेका हुन्।
इरानमा भएका प्रदर्शनमा व्यापक दमनपछि इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले इरानमा सैन्य कारबाही गर्नसक्ने चेतावनी दिएको थियो। इरान र इजरायलबीच गत जुनमा छोटो युद्ध भएको थियो जसमा इजरायलले इरानको सैन्य र आणविक केन्द्रहरुमा आक्रमण गरेको थियो । इरानका तीन प्रमुख आणविक केन्द्रमा आक्रमण गर्दै अमेरिका केही समयका लागि उक्त आक्रमणमा सामेल भएको थियो ।
शुक्रबार रुसी राष्ट्रपति पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग सम्पर्कमा रहेको जानकारी गराएका छन् । रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यस क्षेत्रको स्थिति निकै तनावपूर्ण छ र राष्ट्रपतिले तनाव कम गर्न आफ्नो प्रयास जारी राखेका छन्।’
मस्को इरानको नजिकको सहयोगी हो । उसले इजरायलसँग राम्रो सम्बन्धका लागि पनि प्रयास गरेको छ। यद्यपि सन् २०२३ अक्टोबर ७ देखि गाजामा इजरायलको कार्यको रुसी आलोचनाको बीचमा ती सम्बन्धहरू तनावपूर्ण भएका थिए । शुक्रबार इजरायली नेता नेतान्याहुसँगको कुराकानीमा क्रेमलिनले रुसले मध्यस्थताको प्रयासलाई निरन्तरता दिन आफू तयार रहेको बताएको छ । इरानमा भइरहेको प्रदर्शनबारे अहिले के प्रयास भइरहेको छ भन्ने स्पष्ट पारेको छैन । मस्कोले यसअघि युद्धका बेला मध्यस्थताको प्रस्ताव गरेको थियो ।
मस्कोले चाँडै नै इरानी राष्ट्रपतिसँगको टेलिफोन वार्ताबारे जानकारी सार्वजनिक गर्ने बताएका छन् । नेतान्याहूले आइतबार विरोध प्रदर्शनका बीच इरान चाँडै नै ‘निरंकुशताको पञ्जा’ बाट मुक्त हुने विश्वास व्यक्त गरेका थिए । यद्यपि, दमन र एक हप्ता लामो ‘इन्टरनेट ब्ल्याकआउट’को सामना गर्दै पछिल्ला केही दिनहरूमा प्रदर्शनहरू कम भएको देखिन्छ ।
इरानले बारम्बार अमेरिका र इजरायलमाथि अशान्ति भड्काएको र इस्लामिक गणतन्त्रको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबारे वार्ता गर्न पहल गरिरहेको साउदी अरबका एक वरिष्ठ अधिकारीले बिहीबार एएफपीलाई बताए ।
