युगान्डाका मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित
कम्पाला। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित हुनुभएको छ ।बिहीबार सम्पन्न निर्वाचनमा ८१ वर्षीय मुसेभेनीले ७१.६५ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । उहाँको जितसँगै उहाँले पूर्वी अफ्रिकी देशमा ४० वर्षे शासन लम्ब्याउन सफल हुनुभएको छ ।
उहाँले पूर्व गायकबाट राजनीतिज्ञ बनेका ४३ वर्षीय बबी वाइनलाई पराजित गर्नुभएको हो । वाइनले २४.७२ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।
वाइनले राजनीतिमा प्रवेश गरेदेखि मुसेभेनीले निरन्तर दबाबको सामना गर्नुपरेको छ । उहाँ सन् २०२१ मा राष्ट्रपति पदको लागि पहिलो प्रतिस्पर्धा अघि धेरै गिरफ्तारीहरूको सामना गर्नुपरेको थियो ।
वाइनले ‘नक्कली परिणामहरूको पूर्ण अस्वीकार’ गर्ने बताउनुभएको छ। निर्वाचनपछि परिवारसहित उहाँलाई घरमा नै नजरबन्दमा राखिएको थियो । उहाँ आफ्नो घरमा सुरक्षाकर्मीले छापा मारेपछि शुक्रबार राति घरबाट भाग्न सफल हुनुभएको थियो ।
“म उनीहरूको कब्जाबाट उम्कन सफल भएँ,” वाइनले शनिबार एक्समा पोस्ट गर्दै लेख्नुभएको छ। “श्रीमती र परिवारका अन्य सदस्य नजरबन्दमा रहे पनि अहिले म घरमा छैन,” उहाँले भन्नुभयो।
निर्वाचन परिणाम घोषणासँगै सुरक्षास्थितिलाई मध्यनजर गर्दै प्रशासनले देशको राजधानी लगायत मुख्य शहरहरूमा सुरक्षाकर्मीको व्यापक परिचालन गरेको छ।
