`

सर्वोच्च अदालतमा रिट दर्ता गर्दा देउवा पक्षका यस्ता छन् तीन माग

Nepal One HD ४ माघ २०८२ १४:२८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको विशेष महाधिवेशन र निर्वाचन प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट निवेदन निवर्तमान सभापति देउवाको नाममा वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको हो । आइतबार बिहान देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू सर्वोच्च पुगेका थिए र तत्काल सुनुवाइको माग गरेका थिए । सर्वोच्च प्रशासनले कानुनअनुसार तत्काल सुनुवाइ नमिल्ने जानकारी दिएको छ । रिटको पेसी मंगलबार, माघ ६ गते तोकिएको छ ।

रिटमा देउवा समूहले मुख्यतः तीन माग प्रस्तुत गरेका छन् :

विशेष महाधिवेशन अवैधानिक ठहरः देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै भंग गर्न माग गरेका छन् । निर्वाचनको उम्मेदवारी प्रक्रिया रोकः प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते तोकिएको उम्मेदवारी मनोनयन रोक्न माग गरिएको छ । यदि मनोनयन भइसकेको छ भने स्थगित गरी नयाँ मिति घोषणा गर्नुपर्ने माग पनि रिटमा राखिएको छ ।

निर्वाचन आयोगको निर्णय बदरः निर्वाचन आयोगले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको निर्णय बदर गर्न माग गरिएको छ । रिटमा निर्वाचन आयोग, सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई विपक्षी बनाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता भएको र पेसी माघ ६ गते तोकिएको पुष्टि गरेका छन् । रिट दायर भए पनि कानुनी प्रक्रियाअनुसार सुनुवाइ तत्काल हुने छैन । यो घटनाले नेपाली कांग्रेसमा चलिरहेको नेतृत्व विवादलाई अझै उग्र बनाउने सम्भावना देखिन्छ । देउवा समूह र गगन थापा समूहबीचको राजनीतिक टकराव आगामी निर्वाचन र पार्टीको आन्तरिक व्यवस्थापनमा निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *