शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्ने सहमति भइसक्यो : सुनिल शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोइराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कांग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी भएका उनले सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।
नेता शर्माले कांग्रेस पार्टीका लागि सर्वस्वहरणमा परेको कोइराला परिवारका कुनै पनि सदस्य पार्टीलाई एकतावद्ध बनाएर लैजान जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । उनले वरिष्ठ नेता कोइरालाले निर्वाचन आयोगले आधिकारिता दिएको कांग्रेस र देउवा पक्षलाई एकतावद्ध बनाउन सफल हुने समेत बताए ।
नेता शर्माले भने, ‘शेखर दाइहरु गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । के बुझ्नु होला भने–शेखर कोइरालाहरुलाई अथवा कोइराला फ्यामिलीलाई यो पार्टी फुटेको मन परेको होला ? होइन । उहाँहरुको त पार्टी बनाउन कति वर्ष जेल बसेको छ । सर्वस्वहरण भएको छ । आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भएपनि शेखर कोइरालाले पार्टी बचाई दिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनु पर्छ । पार्टी बचाउन लागि रहनु भएको छ ।’ नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकतावद्ध बनाएर लैजाने लागि परेको बताए । उनले निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।
