‘बा’ र बालेन भिड्ने चर्चाले तात्तियो झापा (भिडियाेसहित)
काठमाडौं । ‘केपी बा’ भनेर पार्टीवृत्तमा चर्चित एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली र युवा पुस्तामाझ लोकप्रिय रास्वपा नेता बालेन्द्र शाह ‘बालेन’ प्रतिस्पर्धा गर्ने भएपछि झापामा चुनावी गर्मी बढेको छ ।
देशको पूर्वी तराईको झापा जिल्ला अहिले चुनावी राजनीतिको ‘केन्द्रविन्दु’ जस्तै भएको छ । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरू त्यहीँबाट चुनाव लड्न लागेकाले पनि झापातर्फ सबैको ध्यान केन्द्रित भएको हो । यहाँको चुनावी हारजितले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्छ ।
त्यसैले, पाँचवटा निर्वाचन क्षेत्र भएको झापाको चुनावी राजनीतिलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।
चुनाव आउन डेढ महिना बाँकी हुँदा चुनावी सरगर्मी भने दिनदिनै बढेको बढेकै छ । खासगरी आमचासो भएको झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा हो । यहाँ भावी प्रधानमन्त्रीका दुई नेतासहित थुप्रै उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन् । यसले पनि झापा–५ को चुनावी राजनीतिको मूल्य बढाएको हो ।
यहाँ २०७२, २०७४ र २०७८ मा गरी तीनपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओली सबैभन्दा अग्ला कदका उम्मेदवार हुन् । विगतका दुई राजनीतिक घटनाले उनको राष्ट्रवादी नेताको छवि बन्यो ।
त्यो हो– पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ को असोज ३ गते संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको ओलीले डटेर सामना गर्दा र दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपालको चुच्चे नक्सा जारी गराउँदा ।
यी दुई घटनाले राष्ट्रवादी छवि बनाएका ओली यसपटक आठौँपटक चुनावी मैदानमा छन् । उनले यसअघि सातपटक चुनाव लड्दा छ पटक जिते । पहिलोपटक २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओलीले चुनाव जितेका हुन् । उनको हार भएको २०६४ मा हो, त्यसबेला उनी तत्कालीन नेकपा माओवादीका नेता विश्वद्विप लिङ्देनसँग पराजित भए ।
उनै ओली यसपाली आठौँपटक चुनावी प्रतिस्पर्धाबाट सातौँ जितको खोजीमा छन् र जितेर भावी प्रधानमन्त्रीको उम्मेदवार बन्न योग्य हुने मनसायमा छन् । उनी पछिल्ला निर्वाचनहरूमा भारी मतान्तरले विजयी नेता पनि हुन् । उनी झापा–५ का स्थानीयवासी पनि हुन् ।
तर, उनलाई यसपटक टक्कर दिने भन्दै काठमाडौंका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ मा जाँदैछन् ।
उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । त्यसो हुँदा तीनपटक प्रधानमन्त्री भइसकेका र फेरि हुने घोषणा गरेका ओलीसँग भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित बालेन आमनेसामने हुने भएका हुन् ।
बालेन काठमाडौंमा दलीय उम्मेदवारहरूलाई पराजित गर्दै २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए । भनिन्छ, उनी गत जेन–जी विद्रोहका पर्दा पछाडिका कमान्डर हुन् । उनी पनि ओलीजत्तिकै चर्चित युवा नेतृत्व हुन् । संसदीय निर्वाचनमा उनले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।
भावी प्रधानमन्त्रीका यी दुई उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएका छन् । प्रचण्डसँग टिकट लिएर उनी चुनाव क्षेत्र झापा–५ गएका छन् ।
उनी पनि पहिलोपटक संसदीय निर्वाचनको मैदानमा उत्रिएका युवा नेतृत्व हुन् । माओवादी युद्ध लडेर आएका उनको छवि स्वच्छ छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न भएका आन्दोलनका मोर्चाहरूमा उनी सँधै ‘फ्रन्टलाइनर’ भए ।
उनलाई ओली र बालेनलाई चुनौती पेस गर्न सक्ने नेताको रूपमा हेरिएको छ । उनीमाथि १८ वर्षअघिको माओवादी जितको विरासत फर्काउने अभिभारा छ ।
यस्तै, नेपाली कांग्रेसले झापा–५ मा तत्कालीन माओवादी छाडेर आएका र २०६४ मा ओलीलाई पराजित गरेका नेता विश्वद्वीप लिङ्देनलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ ।
लिङ्देनले ओली र बालेनविरुद्ध प्रतिस्पर्धामा उत्रिएर निर्वाचन जित्ने सूत्र रहेको दाबी गर्दै आएका छन् । उनै लिङ्देनलाई कांग्रेसले यसपटक ओली, बालेन र रञ्जितसँग चुनावी प्रतिस्पर्धामा उतार्ने देखिएको हो ।
यता धरानका मेयर हर्क साङपाङको श्रम संस्कृति पार्टीले झापा– ५ मा समीर तामाङलाई उम्मेदवार बनाइसकेको छ । उनी झापा–५ मा श्रम अभियन्ताका रूपमा चिनिएका युवा नेता हुन् ।
पार्टी अध्यक्ष साम्पाङले हालै झापामा चुनाव केन्द्रित ठूलाठूला सभा गरेका छन् । यस्तोमा शुक्रबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै झापा–५ मा आफू गएर सम्बोधन गरेपछि ओली र बालेनप्रतिको भ्रम चिरिने र चुनाव जित्ने दाबी गरेका छन् ।
उम्मेदवार तामाङले पनि यसपटक माटो चुनाव चिह्नमा झापा–५ बासीले मतदान गरी अत्यधिक मतका साथ निर्वाचित गर्ने दाबी गर्दै आएका छन् ।
