कांग्रेस एक ढिक्का बनाउने प्रयास जारी छ, टिकट वितरण न्यायपूर्ण हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता कायम राख्दै उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । भिडियो सन्देशमार्फत उनले निर्वाचनका लागि उम्मेदवार तय गर्ने काम समयको चापका बीच भइरहेको स्पष्ट पारेका छन् । थापाका अनुसार पार्टीका तल्ला तहदेखि नै उम्मेदवारहरूको सिफारिस भइसकेकाले अहिले ती सिफारिसकै आधारमा निर्णय गर्नुपर्ने बाध्यता रहेको छ ।
‘विशेष परिस्थितिमा आइपुगेकाले हात बाँधिएको अवस्था छ’, भन्दै उनले समय र प्रक्रियागत सीमाका कारण सबै अपेक्षा पूरा गर्न कठिन भएको स्वीकार गरे । उनले उम्मेदवार छनोटमा नयाँ र अनुभवी दुवै खाले नेताहरूलाई समेट्ने प्रयास भइरहेको बताएका छन् । पार्टीभित्र समावेशिता र सन्तुलन कायम राख्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै थापाले भने, ‘नयाँ र पुरानो दुवैको संयोजन गरेर सक्षम उम्मेदवार अघि सार्ने प्रयासमा छौं ।’
निर्वाचन आयोग र अदालतसँग सम्बन्धित विषयले पनि उम्मेदवार छनोटमा ढिलाइ भएको उनको भनाइ थियो । पार्टीको जिम्मेवारी सम्हालेपछि आफू निरन्तर निर्वाचन आयोग धाइरहेको उल्लेख गर्दै उनले पार्टीभित्रै केही नेताहरूले कानुनी परीक्षणको बाटो रोजेकाले प्रक्रिया थप जटिल बनेको बताए । ‘चित्त नबुझेका साथीहरूलाई पनि सँगै लिएर अघि बढ्ने प्रयास हिजो साँझसम्म जारी थियो’, थापाले भने, ‘तर समय अत्यन्तै सीमित भएकाले अब आजै सबै विषय टुङ्ग्याउनु पर्ने अवस्थामा पुगेका छौं ।’
उनले पार्टीभित्र देखिएका असहमतिका बाबजुद संवाद र समझदारीमार्फत एकता कायम गर्न कठिन प्रयास भइरहेको पनि बताए । उम्मेदवार छनोटपछि कांग्रेस आधिकारिक उम्मेदवारलाई जिताउन सबै कार्यकर्ता र नेताहरू एकढिक्का भएर लाग्नुपर्नेमा उनले जोड दिए । ‘सबैको चाहना पूरा नहुन सक्छ’, भन्दै थापाले अपिल गरे, ‘तर पार्टीको तर्फबाट रुख चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउने अभियानमा कुनै मनमुटाव नराखी जुट्नु अहिलेको आवश्यकता हो ।’ उनले कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर निर्वाचनमा अघि बढ्ने विश्वास व्यक्त गर्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
