`

३४ वर्षपछि डडेलधुरामा कांग्रेसको पुस्तान्तरण, देउवाको ठाउँमा नयनसिंह महर

Nepal One HD ६ माघ २०८२ १०:१५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा डडेलधुराबाट एक ऐतिहासिक अध्याय टुंगिएको छ । २०४८ सालदेखि निरन्तर प्रतिनिधिसभा निर्वाचन जित्दै आएका कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा यस पटक चुनावी मैदानमा नउत्रिने भएका छन् । उनको स्थानमा कांग्रेसले युवा नेता नयनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले डडेलधुराबाट महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यद्यपि अन्तिम औपचारिक सूची सार्वजनिक हुन बाँकी रहे पनि देउवाको सचिवालयले उनी आगामी निर्वाचनमा उम्मेदवार नबन्ने स्पष्ट गरिसकेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘शेरबहादुर देउवा ज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ ।’ डडेलधुरामा कांग्रेसका लागि देउवा केवल उम्मेदवार मात्र होइन, राजनीतिक पहिचान नै बनेका थिए । २०४८ सालको निर्वाचनमा पहिलो पटक सांसद बनेका देउवाले त्यसयता भएका सात वटै निर्वाचनमा अपराजित रहँदै संसदीय यात्रा निरन्तरता दिएका थिए । पाँच पटक प्रधानमन्त्री बनेका देउवाको यो निर्णयसँगै उनको ३४ वर्ष लामो संसदीय उपस्थितिमा विराम लागेको छ ।

पार्टीभित्रको बदलिँदो शक्ति सन्तुलन र हालै सम्पन्न विशेष महाधिवेशनपछि देखिएको ‘पुस्तान्तरण’ को सन्देशले देउवालाई टिकट नदिने वातावरण बनेको विश्लेषण गरिएको छ । विशेष महाधिवेशनबाट गगन थापा समूहको प्रभाव बढेसँगै देउवा समूह दबाबमा परेको थियो । स्रोतका अनुसार, टिकट निश्चित नदेखिएपछि देउवाले आफैं चुनावी दौडबाट बाहिरिने निर्णय लिएका हुन् । देउवाको स्थानमा अघि सारिएका नयनसिंह महर कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी पार्टीको शिक्षा विभाग प्रमुख रहँदै आएका छन् भने नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन् ।

पार्टीभित्र युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका महरलाई देउवाको राजनीतिक विरासत सम्हाल्ने जिम्मेवारी दिइएको छ । डडेलधुरा कांग्रेस कार्यसमितिले भने सुरुआतमा देउवाकै नाम एकल सिफारिस गरेको थियो । तर केन्द्रको निर्णयले स्थानीय सिफारिस उल्टिएको छ । देउवासँगै यस पटक उनकी पत्नी आरजु राणा देउवाले पनि टिकट पाइनन् । कैलाली–५ बाट सिफारिस भएकी आरजुको स्थानमा पार्टीले नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्र उठेको ‘जेनेरेशन सिफ्ट’ को बहस, पछिल्लो समय देउवा दम्पतीमाथि भएको आलोचना तथा युवा नेतृत्वप्रति बढ्दो आकर्षणले यो निर्णयमा भूमिका खेलेको देखिन्छ ।

२००३ सालमा डडेलधुराको रुवाखोलामा जन्मिएका देउवा २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए । २०४८ सालमा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी साहसी र अडान लिने नेताका रूपमा परिचित थिए । ‘ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ’ भन्ने उनको चर्चित अभिव्यक्तिसँगै पुनः प्रधानमन्त्री बन्ने आकांक्षामा पनि अब पूर्णविराम लागेको छ । अब डडेलधुराको राजनीतिक मैदानमा कांग्रेसले नयाँ अनुहार अघि सारेको छ । देउवाको स्थानमा नयनसिंह महरलाई मतदाताले कत्तिको विश्वास गर्छन् भन्ने प्रश्न आगामी निर्वाचनले जवाफ दिनेछ । तर, यति भने स्पष्ट छ–डडेलधुरामा कांग्रेसको ३४ वर्ष पुरानो एउटा युग समाप्त भई नयाँ अध्याय सुरु भएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *