`

कांग्रेस नफुटोस् भनेर विशेष महाधिवेशनबाट टाढा बसें : शेखर कोइराला

Nepal One HD ८ माघ २०८२ १३:४२
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण कांग्रेस विभाजनको जोखिममा नपरोस् भनेर आफूले विशेष महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पारेका छन् । पार्टी एकता जोगाउनकै लागि मध्यमार्गी भूमिका निर्वाह गरेको उनको दाबी छ ।

मोरङ–६ अन्तर्गत सुन्दरहरैंचामा आफ्ना समर्थकहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै डा. कोइरालाले पार्टीभित्र फरक–फरक धार सक्रिय रहेकाले परिस्थिति संवेदनशील बनेको बताए । एक समूह विशेष महाधिवेशनको पक्षमा उभिएको र अर्को समूह नियमित प्रक्रियाको वकालत गरिरहेको अवस्थामा आफूले कुनै एक धार समात्दा कांग्रेस दुई टुक्रा हुने खतरा रहेको उनको भनाइ थियो ।

‘एउटा समूह विशेष महाधिवेशन भनेर हिँड्ने, अर्को नियमित महाधिवेशनमै जोड दिने अवस्था थियो’, उनले भने, ‘यस्तो परिस्थितिमा म त्यो हलमा गएको भए कांग्रेस विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो रोजें ।’
पार्टी एकताका लागि लिएको यही भूमिकाका कारण आफूलाई ‘ढुलमुले’ भन्ने गरिएकोप्रति उनले असन्तुष्टि पनि जनाए । ‘पार्टी बचाउन खोज्दा ढुलमुले भनिन्छ भने त्यो स्वीकार्य हुँदैन’, उनले भने, ‘म त्यहाँ गएको भए सभापति बन्थेँ वा बन्दिनथेँ, त्यो अर्को कुरा हो, तर पार्टी भने निश्चित रूपमा दुई टुक्रा हुन्थ्यो ।’

डा. कोइरालाले अब विगतका मतभेदलाई थाँती राखेर कांग्रेस एकताबद्ध भएर आगामी चुनावमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए । आन्तरिक द्वन्द्वले होइन, साझा एजेन्डा र सहकार्यले मात्र पार्टीलाई बलियो बनाउन सकिने उनको निष्कर्ष थियो । उनले कार्यकर्ता र नेताहरूलाई संयमित, जिम्मेवार र एकतामुखी भूमिका खेल्न आग्रह गर्दै कांग्रेसको दीर्घकालीन हित पार्टी एकतामै रहेको धारणा व्यक्त गरे ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *