कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ । भोलि (शुक्रबार) सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ । उनले भने, ‘भोलि हामी सानेपा भएर पार्टीको बैठक बस्दै छ, बैठकले निर्वाचनको तयारीबारे आवश्यक निर्णय गर्छ ।’
कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले जानकारी दिए । ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ । त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौं ।’ सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
सभापति निर्वाचित भए पनि गगन थापाले पहिलो र दोस्रो कार्यसमितिको बैठक होटलमै गरे । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठक पनि होटलमै गरे । थापन नेतृत्वको कार्यसमिति अहिलेसम्म पार्टी केन्द्रीय कार्यालय गएको छैन । प्रवक्ता देवराज चालिसे भने, ‘भोलि केन्द्रीय कार्यालयमै केन्द्रीय समितिको बैठक बस्छौँ ।’ उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर भएकोले काठमाडौँमा उपलब्धहरू मात्रै भोलिको बैठकमा सहभागी हुनेछन् ।
