`

राप्रपा उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण

Nepal One HD ८ माघ २०८२ १३:५६
प्रमुख खबर

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–४ बाट उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित घृणित अभिव्यक्ति दिएको र समाजमा भ्रम फैलाएको आरोपमा उनीविरुद्ध आयोगमा उजुरी परेको थियो । उजुरीमा भण्डारीको उम्मेदवारी तत्काल खारेज गरी हदैसम्मको कारबाही गर्न माग गरिएको थियो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाएको पत्रमा भण्डारीले बोलेको देखिने श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले स्पष्टीकरण सोधिएको उल्लेख छ । पत्रमा ज्येष्ठ नागरिक, महिला, यौनिक अल्पसङ्ख्यक समुदाय तथा अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने किसिमको निर्वाचन प्रचारप्रसार गर्न नहुने आचारसंहिताको व्यवस्था विपरीत अभिव्यक्ति दिएको हो वा होइन भन्ने प्रश्न गरिएको छ ।

यदि त्यस्तो अभिव्यक्ति दिएको हो भने किन निर्वाचन आचारसंहिता, २०८२ तथा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही गर्नु नपर्ने हो भन्ने स्पष्ट आधारसहित जवाफ दिन आयोगले निर्देशन दिएको छ । आयोगले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न भण्डारीलाई भनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *