`

सानेपा पुग्दै गगनसहित कांग्रेस पदाधिकारी, कार्यकर्ताको भीड

Nepal One HD ९ माघ २०८२ १३:१६
नेपाली कांग्रेस

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ कार्यसमितिले आज (शुक्रबार) पदबहाली गर्दैछ । गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले आज केन्द्रीय कार्यालय, सानेपामा पदबहाली गर्ने भएको हो ।

दिउँसो १ बजे सानेपामा पदबहाली कार्यक्रम रहेको नेता मनोजमणि आचार्यले जानकारी दिए । नयाँ कार्यसमिति चुनिएर आएपछि केन्द्रीय कार्यालय पुगेको छैन । यसअघि दुई वटा बैठक बानेश्वरमा भएका छन् । यस्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुन भनेको छ । बैठकअघि पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा नयाँ कार्यसमिति आएपछि कांग्रेसमा विवाद छ । यो विवाद सर्वोच्च अदालत पुगेको छ । शेरबहादुर देउवा र पूर्णबहादुर खड्का लगायतले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै अन्तरिम आदेशको मागसहित अदालत पुगे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

‘आजको निर्णयले देशभर नयाँ तरङ्ग ल्याउँछ’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयले देशभर नयाँ तरंग आउने दाबी गरेका छन् । बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी नीति र नेतृत्व दुवै परिवर्तन गरेर आजबाट चुनावमा होमिने बताए ।

उनले विधिवत् रूपमा देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर जनतालाई दिनको लागि भावी प्रधानमन्त्री तोकेर जान लागेको बताए । उनले भने, ‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरू गर्दैछ ।’ उनले नेपालको जग मधेश भएकाले सभापति गगन थापाले सर्लाही रोजेको बताए ।

उनले भने, ‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पको साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागि सभापतिलाई सर्लाही ४ मा अघि सारेका छौँ ।’ सभापति मधेशबाट निर्वाचित भएर आएपछि मधेशका मुद्दाहरूले प्राथमिकता पाउने उनले बताए ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *