`

कांग्रेसको आजको निर्णयले देशभर नयाँ तरङ्ग सिर्जना गर्छ : महामन्त्री पौडेल

Nepal One HD ९ माघ २०८२ १४:२४
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताएका छन् । पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले शुक्रवार बस्न लागेको बैठकले गर्ने निर्णयले देशभर नयाँ राजनीतिक तरङ्ग सिर्जना गर्ने दाबी गरे ।

उनले बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिए । कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा होमिने तयारी गरेको छ । सोही प्रस्ताव पार्टीको केन्द्रिय समितिमा लैजाने र बैठकले निर्णय गर्ने महामन्त्री पौडेलले जानकारी दिए । महामन्त्री पौडेलले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए । कांग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भन्ने छनोट गर्ने अवसर विधिवत रूपमा प्रदान गर्न लागेको उनको दाबी छ ।

संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उनको भनाई छ । अब मतदाताले उम्मेदवार जितेपछि को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पहिले नै थाहा पाउने उनले बताए । नागरिकले प्रधानमन्त्री चयन प्रक्रियामा प्रत्यक्ष भुमिका खेल्न पाउने प्रणाली विकास गर्ने लक्ष्य कांग्रेसले लिएको उनले बताए ।

उनले भने, ‘आज बस्ने बैठकले निर्वाचन केन्द्रित भएर केही ठोस, ऐतिहासिक निर्णयहरु गर्दैछ । आज केन्द्रिय कार्यसमितिले गर्ने निर्णयले देशभरि एउटा नयाँ तरङ्ग सिर्जना गर्नेछ । निर्वाचनमा काँग्रेसप्रति मत आकर्षित गर्नको लागि आजको निर्णय महत्वपूर्ण हुनेछ । नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक विधिवत् रुपमा नेपाली कांग्रेसले निर्वाचन लक्षित गरेर निर्णय गर्दैछ । खासगरि हामीले विशेष महाधिवेशनमा नै प्रतिवद्धता गरेका थियौँ । हामी नेतृत्व पनि परिवर्तन गर्नेछौँ, नीति पनि परिवर्तन गर्नेछौँ । काँग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्ने गरि काँग्रेसले नयाँ प्रश्ताव ल्याउनेछ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौँ ।’

उनले भने, ‘त्यही संकल्प बमोजिम कांग्रेस त परिवर्तन भयो, कांग्रेस त नयाँ भयो । अब कांग्रेसको नेतृत्वलाई देशले नयाँ बनाउनको निम्ति कांग्रेसको तर्फबाट कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनमार्फत नेपाली कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्नेछ । नेपाली काँग्रेसले नागरिकलाई देशको प्रधानमन्त्री को बनाउने भनेर छनोट गर्ने अवसर विधिवत रुपमा निर्णय गरेर प्रदान गर्दैछ । यो एकदमै लोकतान्त्रिक पद्धतीको विकास काँग्रेसले प्रक्रियागत ढंगले शुरु गर्दैछ ।’

उनले भने, ‘यो चाँही आवधिक निर्वाचन हुनु अगाडि प्रधानमन्त्री घोषणा गर्ने प्रणालीतिर जाने संकेत हो । यो अरु कुनै खालको संकेत होइन । खासगरि संसदीय निर्वाचनमा पार्टीको वारेस लिएर जो उम्मेद्वार हुन्छ । त्यो उम्मेद्वारले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा मत प्राप्त गर्ने स्थिति बन्नुपर्छ । त्यसैले अहिले नेपाली काँग्रेसको उम्मेद्वारहरुले जित्दै गर्दा उहाँहरुले जित्यो भने को प्रधानमन्त्री हुन्छ भन्ने कुरा पनि मतदाताले थाहा पाउने स्थिति हामीले बनाउन खोजेका हौँ । हामी प्रतिस्पर्धा गर्दा हाम्रो प्रधानमन्त्रीसहित प्रतिष्पर्धा गर्न हामीले खोजेका हौँ । यो अभ्यासको विकास गर्न खोजेका हौँ । त्यसैले एउटा प्रतिनिधिसभाको सदस्य मात्रै निर्वाचित हुँदैन, आम मतदातादे निर्वाचित गरेको आफ्नो क्षेत्रको प्रतिनिधि सभाको सदस्यले प्रधानमन्त्री को बनाउँछ भन्ने आधारमा अथवा प्रधानमन्त्री नै नागरिकले छनौट गर्न पाउने विधि स्थापित गर्नको लागि हामीले यो प्रणालीको शुरुवात गरेका हौँ ।’

महामन्त्री पौडेलले बैठकले निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न महत्वपूर्ण निर्णयहरु गर्ने पनि जानकारी दिए । कांग्रेसले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व र नीति दुवै परिवर्तन गरेकोले अब देशको नेतृत्व पनि परिवर्तन गर्ने दाबी गरे । अब कांग्रेसले देशको नेतृत्व परिवर्तनका लागि नयाँ प्रस्ताव ल्याउन लागेको उनले जानकारी दिए । उनले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नको लागी काँग्रेसले सभापति गगन थापालाई मधेसबाट उम्मेद्वार बनाएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *