कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने दावी गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने बताउँँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे । नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो ।
उनले भने, ‘पार्टीको निम्ति र समग्र देशबासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नु पर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छौँ ।’ उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेद्वार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भए पनि परिस्थिति नमिलेको बताए । नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेद्वारी दिएको उनको भनाई छ ।
