गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा औपचारिक रूपमा अघि सारेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिँदै उपसभापति शर्माकै प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको बताए । विगतमा निर्वाचन सम्पन्न भएपछि संसदीय दलको नेता चयन गर्ने परम्परा रहँदै आएको भए पनि यसपटक मतदातालाई स्पष्ट सन्देश दिन र निर्णय गर्न सहज बनाउने उद्देश्यले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उनले स्पष्ट पारे ।
कांग्रेसले यस निर्णयलाई केवल राजनीतिक रणनीति मात्र नभई मतदातामैत्री अभ्यासका रूपमा व्याख्या गरेको छ । ‘कुन पार्टीलाई मत दिँदा कसलाई नेतृत्व सुम्पिँदैछ भन्ने कुरा मतदाताले पहिले नै थाहा पाउनु पर्छ’, शर्माले भने, ‘यसले लोकतान्त्रिक अभ्यासलाई अझ पारदर्शी बनाउँछ ।’
पाँच मापदण्डमा गगन थापा चयन
कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउँदा पाँचवटा मुख्य मापदण्ड तय गरेको जनाएको छ । ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, पार्टी र देशप्रति योगदान, योग्यता तथा दीर्घकालीन भिजन रहेका छन् ।
उपसभापति शर्माका अनुसार यी सबै सूचकमा गगन थापा अन्य समकालीन उम्मेदवारभन्दा अब्बल देखिएकाले पार्टीले उनलाई अघि सारेको हो । ‘अहिले विभिन्न दलबाट प्रधानमन्त्रीका नाम सार्वजनिक भइरहेका छन्, तर कांग्रेसले अघि सारेको उम्मेदवार सबै हिसाबले सक्षम र भरोसायोग्य हुनुहुन्छ’, उनले दाबी गरे ।
राजनीतिक प्रतिष्पर्धाको नयाँ चरण
प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने होडमा अन्य दलहरू पनि देखिएका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ भने रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी नेतृत्वको रूपमा प्रस्तुत गरेको छ । यस्तो अवस्थामा कांग्रेसको निर्णयलाई आगामी निर्वाचनमा स्पष्ट नेतृत्वको एजेन्डासहित मैदानमा उत्रिने प्रयासका रूपमा हेरिएको छ । सभापति गगन थापा आगामी प्रतिनिधि सभाको निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसको यो कदमले चुनावी बहसलाई नीतिगत र नेतृत्व केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।
