`

सर्लाही–४ बन्यो चुनावी केन्द्रबिन्दु : गगन थापालाई अग्नीपरीक्षा

Nepal One HD १० माघ २०८२ १५:५५
निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुरक्षित मानिने काठमाडौं निर्वाचन क्षेत्र छाडेर मधेसको सर्लाही–४ रोज्नु केवल उम्मेदवारी परिवर्तन होइन, उनको राजनीतिक यात्राकै सबैभन्दा ठूलो जोखिमपूर्ण निर्णय बनेको छ । मधेसलाई राष्ट्रिय राजनीतिसँग अझ गहिरो रूपमा जोड्नुपर्ने आवश्यकता महसुस गर्दै आफूले सर्लाही–४ रोजेको थापाको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही–४ का युवासँगको अन्तरक्रियामा बोल्दै थापाले काठमाडौंमै चुनाव लडे सहज जित निकाल्न सक्ने अवस्था हुँदाहुँदै पनि जानाजानी सर्लाही रोजेको बताए । ‘म तीन पटक चुनाव जितिसकेको व्यक्ति हुँ । काठमाडौं कि सर्लाही भन्ने टुंगो नलागेसम्म अन्य दलहरूले समेत उम्मेदवार तय गर्न सकेका थिएनन्’, उनले भने, ‘मधेस जान मन थियो, यस पटक आँट गरेर आएको हुँ ।’

थापाले सर्लाही–४ का युवाको भरोसामै आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको स्पष्ट पारे । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरिसकेको सन्दर्भमा सर्लाही–४ को चुनावलाई राष्ट्रिय राजनीतिले विशेष चासोका साथ हेर्न थालेको छ ।

तर थापाको आगमनसँगै सर्लाही–४ निर्वाचन क्षेत्र सुरक्षा र प्रतिस्पर्धाका हिसाबले पनि संवेदनशील बनेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाका कुल ३ सय १२ मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढीलाई संवेदनशील र अति संवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

कांग्रेस सभापति थापा उम्मेदवार बनेको क्षेत्र नम्बर ४ का ८१ मतदानस्थल संवेदनशील वा अति संवेदनशील सूचीमा परेका छन् । २०७९ को निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारीका कारण चर्चामा आएको यो क्षेत्र यस पटक थापाको उम्मेदवारीसँगै झनै राजनीतिक बहसको केन्द्रमा छ ।

२०७९ मा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका थिए । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन्, जसले प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ ।

जिल्ला सुरक्षा समितिका अनुसार भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिकका मतदानस्थल, विगतमा भएका दलगत झडप तथा अपराधिक गतिविधिका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले अति संवेदनशील र संवेदनशील मतदानस्थलमा कडा सुरक्षा व्यवस्था गरी भयरहित वातावरणमा निर्वाचन गराउने तयारी भइरहेको जानकारी दिए ।

यसअघि जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र रहेकामा यसपटक ३ सय १२ मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मधेसमा कांग्रेसको राजनीतिक प्रभाव विस्तार गर्ने थापाको महत्वाकांक्षा, प्रतिस्पर्धी उम्मेदवारको बलियो उपस्थिति र उच्च सुरक्षा संवेदनशीलताबीच सर्लाही–४ को चुनावले यसपटक राष्ट्रिय राजनीतिमा निर्णायक संकेत दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *