`

फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुन्न : गगन थापा

Nepal One HD १३ माघ २०८२ १२:२७
नेपाली कांग्रेस

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले चुनावी राजनीतिमा देखिँदै आएको ‘आए–गए’ प्रवृत्तिलाई अस्वीकार गर्दै सर्लाहीलाई आफ्नो कर्मथलो बनाउने स्पष्ट प्रतिवद्धता जनाएका छन् । सर्लाही पुगेका थापाले मतदाता र कार्यकर्तासँगको अन्तरक्रियामा आफू फोटो खिचेर, हात हल्लाएर ‘छु–मन्तर’ हुने नेता नभएको बताएका हुन् ।

बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘चुनाव आयो, हेलिकप्टर चढेर आयो, फोटो खिचायो, हात हल्लायो र जितेपछि हरायो– यस्तो राजनीति म गर्दिनँ ।’ उनले आफू पार्टीको जिम्मेवारीका कारण अन्य क्षेत्रमा जानु परे पनि सकेसम्म बढी समय सर्लाहीमै बसेर जनतासँग घुलमिल हुने बताए ।

थापाले आफूलाई ‘पाहुना नेता’ का रूपमा नहेर्न मतदातासँग आग्रह गरे । ‘म मत माग्न मात्रै आएको होइन, यहाँका जनतासँग दीर्घकालीन सम्बन्ध गाँस्न आएको हुँ’, उनले भने, ‘जति समय लाग्छ, म यहीँ बसेर तपाईंहरूकै मान्छे बन्न चाहन्छु ।’
कार्यक्रममा केही सहभागीले स्थानीय भाषामा दुई–चार शब्द बोलेर सम्बोधन गर्न सुझाव दिए पनि थापाले त्यसलाई सस्तो लोकप्रियताको अभ्यास भन्दै अस्वीकार गरे । ‘रातभरि रटेर दुई लाइन बोलेर नाटक गर्न मलाई आउँदैन’, उनले स्पष्ट पारे, ‘म ६ महिना, ८ महिना वा एक वर्ष समय लगाएर भाषा सिक्छु, अनि माइक समातेर यहीँको भाषामा आत्मविश्वासका साथ बोल्छु ।’

आफ्नो संसदीय अनुभव स्मरण गर्दै थापाले काठमाडौंमा गैरनेवार भएर पनि नेवार समुदायको संस्कृति, जात्रा र पर्वसँग आफू कसरी घुलमिल भएको उदाहरण प्रस्तुत गरे । ‘जसरी काठमाडौंमा सबै समुदायको विश्वास जितें, त्यसैगरी सर्लाहीका जनताले पनि मलाई आफ्नै छोरा, भाइ वा साथीका रूपमा स्वीकार गर्ने वातावरण बनाउनेछु’, उनले विश्वास व्यक्त गरे ।

नौटङ्की र चटके भाषणभन्दा जिम्मेवार नेतृत्वमा आफू विश्वास गर्ने थापाको भनाइ छ । उनले आगामी दिनमा वडागत छलफलमार्फत कार्ययोजना बनाइने र त्यसको कार्यान्वयनमा सबैलाई सहभागी गराइने बताए । ‘अब भाषणभन्दा कामको समय हो’, उनले भने, ‘फागुन २१ सम्म हामी व्यवस्थित छलफल गरेर स्पष्ट कार्ययोजनामा जान्छौँ ।’ थापाले चुनावी अभियानका क्रममा केही दिन निरन्तर सर्लाहीमै बसेर घरदैलो कार्यक्रम गर्ने र काठमाडौंका अपरिहार्य पार्टी काम सकेर पुनः यही क्षेत्र फर्किने योजना समेत सुनाएका छन् । उनका अनुसार सर्लाही–४ का जनताको अभिभावक बनेर जिम्मेवारी निर्वाह गर्नु नै आफ्नो राजनीतिक लक्ष्य हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *