तपाईंहरुले जिताइसक्नु भयो, फागुन २१ त बाक्सा खोल्न पर्खिने दिन मात्रै : नेता शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको कांग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले कांग्रेस पूर्णरुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनु पर्ने बताएका हुन् । उनले अब युवा कांग्रेस, विपी कोइरालाले कल्पना गरेको समावेशी, लोकतान्त्रिक कांग्रेस बनिसकेको बताए ।
उनले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नपरी कांग्रेसलाई मतदान गर्न आह्वान गरे । बदलिएको कांग्रेसले नै देश बदल्ने उनको जिकिर छ । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताए । उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए ।
उनले भने, ‘मत मलाई दिनु हुन्छ, थाहा छ, पहिला पनि दिनुभयो तर अलिकति छरछिमेकीलाई पनि भन्नु पर्छ । मत बढाइ दिनुपर्छ । पहिला तीन नम्बर बनाई दिनु भयो अब एक नम्बर बनाई दिनुहोला । भोट जनताले दिने हो बाक्सा चेन्ज हुने होइन केरे । बाक्सा खोल्न पर्खिनु त पर्ने हो । तपाईंहरुले नै दिने भोट हो । फागुन २१ सम्म पर्खिनुपर्ने हो । मत तपाईंहरुले हाल्ने हो । गन्ने मान्छे नेपाली नै हुन् ।’
उनले भने, ‘अब बदलिएको कांग्रेस, युवा कांग्रेस, विपी कोइरालाले परिकल्पना गर्नु भएको कांग्रेस, समावेशी कांग्रेस, लोकतान्त्रिका कांग्रेस, डेमोक्रेटिक कांग्रेसलाई तपाईंहरुले मत दिएर पठाइदिनु भयो भने यसरी नै हाँसीहाँसीकन कुनै सुरक्षा गार्ड नराखिकन तपाईंहरुका बीचमा सदा सर्वदा फेरि आउने सुअवसर प्राप्त गर्नेछौँ । अहिले तपाईंहरुले दिने मत यति मूल्यवान छ, त्यो मूल्यवान चिजलाई कन्फ्युज नगरी दिनुहोला । विपीहरुले जोगाएको कांग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व तपाईंहरुको बीचमा छ ।’ उनले युवा कांग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरे ।
