गगन थपालाई सघाउन भन्दै सांसदका उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउन सर्लाही क्षेत्र नं ४ का प्रदेश सांसदका उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।
बहुजन पार्टीबाट सर्लाही–४ (२) प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका–१ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजयप्रसाद शाह, वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
वडा नं १ का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष नेपाल नेपाल कम्युनिष्ट पार्टी, वडा नं ५ का वडाध्यक्ष गुप्ता जसपा, वडा न ११का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । त्यस्तै बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । यसअघि सर्लाही क्षेत्र नं ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।
