अफ्रिकी पेन्गुइन जनसङ्ख्या बर्डफ्लुका कारण जोखिममा
केप टाउन। बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा/एचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
‘साउदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बर्डस् (सान्कोब)’ले सन् २०२५ देखि सेप्टेम्बर २३ सम्मको अनुसन्धानले अफ्रिकी पेन्गुइनमा यो रोगको पुष्टि भएको बताएको छ ।
“अत्यधिक दबाबमा रहेको पेन्गुइन जनसङ्ख्याका लागि केहीको पनि क्षति हुनु हाम्रा लागि चिन्ताको बिषय हो,” फाउन्डेसनले पेन्गुइन जागरूकता दिवस जनवरी २० मा आयोजित एक कार्यक्रममा बताएको थियो ।
“प्रजनन क्षेत्रभित्र व्यापक रूपमा फैलिएको प्रकोप द्रुत गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको जनसङ्ख्याको लागि विनाशकारी हुनेछ,” फाउन्डेसनले भनेको छ।
फाउन्डेसनले सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र देखेको घटना तुरुन्त सङ्गठन वा अन्य सम्बन्धित निकायलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।
सन् २०२३ मा अफ्रिकी पेन्गुइन (स्फेनिस्कस डिफेर्नस) को विश्वव्यापी जनसङ्ख्या पहिलो पटक १० हजार प्रजननयोग्य जोडी भन्दा तल झरेको थियो, जसले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घलाई सन् २०२४ मा यो प्रजातिलाई ‘गम्भीर रूपमा लोपोन्मुख’ प्रजाति को रूपमा सूचीबद्ध गर्न प्रेरित गरेको थियो ।
“यही दरमा अफ्रिकी पेन्गुइनको विनास हुनेहो भने सन् २०३५ सम्ममा यो पङ्क्षी लोप हुनेसक्ने सम्भावना देखिएको छ,” सान्कोबले सन् २०२५ जुनमा जारी चेतावनीमा बताएको थियो ।
सन् २०२५ को डिसेम्बरमा सान्कोबले जारी गरेको एक विज्ञप्तिमा सन् २०१८ यता बर्ड फ्लुका कारण एक हजारभन्दा बढी अफ्रिकी पेन्गुइनको मृत्यु भएको जनाएको छ ।
सन् २०२५ जुलाईदेखि विनाशकारी रोगको नयाँ प्रकोपले दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा अन्य समुद्री चराहरूलाई असर गर्दा यसको असर अफ्रिकी पेन्गुइनहरूमा पनि परेको देखिएको थियो । सन् २०२५ जुलाइपछि २६ शङ्कास्पद पेन्गुइनको मृत्युमा एचपिएआई सङ्क्रमणको रिपोर्ट गरिएको छ ।
