एमालेको चुनावी रणनीतिः फागुन पहिलो हप्तामा घोषणापत्र, नीतिगत बहस र विकास मुल मुद्दा
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउएका हुन् । उनले निर्वाचनका लागि पार्टीको तयारी तिब्र पारेको बताए। निर्वाचन आयोगको ढिलो कार्यतालिका र प्रचार समयसीमाका कारण अहिले मुख्य रूपमा आन्तरिक भेटघाट, संगठन मजबुती र उम्मेदवार छनोटको काम सकिएको उहाँले जानकारी दिए । पोखरेलले यो निर्वाचनलाई मुलुकको दिशा फेर्ने जनमत संग्रहको रूपमा हेर्दै पार्टीले नीतिगत बहस, सामाजिक एकता, पारिवारिक मूल्य संरक्षण र विकास आयोजना लाई प्रमुख मुद्दा बनाएको स्पष्ट पारे । उनले व्यक्तिवादी वा सामाजिक सञ्जालमा आधारित पपुलिजमलाई चुनौती दिँदै चुनावलाई एजेण्डा र कार्यक्रमको बहस बनाउनुपर्नेमा जोड दिए ।
चुनावी तयारीः फाल्गुन पहिलो हप्तामा घोषणापत्र सार्वजनिक
निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि मात्र प्रचार कार्यतालिका दिएको छ । अहिले आन्तरिक भेटघाट र संगठनात्मक काम भइरहेको छ । फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गरेर उम्मेदवारहरू जनताका बीचमा पुग्ने उनले बताए । एमालेले संस्थागत प्रक्रियामार्फत समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोट गरेको र अन्य दलहरूभन्दा व्यवस्थित रहेको उनको दाबी छ ।
नीति र एजेण्डामा आधारित चुनाव आवश्यकः व्यक्तिवादलाई अस्वीकार
लोकतन्त्र संवादको प्रणाली भएको भन्दै उनले चुनावलाई नीति र कार्यक्रम को बहस बनाउनुपर्नेमा जोड दिए ।
“व्यक्तिवादी वा अनुहारमा आधारित विकल्प लोकतान्त्रिक होइन,’ उनले स्पष्ट पारे, ‘वास्तविक विकल्प एजेण्डा बाट निर्धारण हुन्छ, अनुहार पुरानो हो वा नयाँ हो भन्ने कुराले होइन ।”
सामाजिक सञ्जालमा आधारित घृणा र पपुलिजम लोकतन्त्रको लागि ठूलो चुनौतीभएको बताउनु भयो ।
झापा ५ र दाङमा मजबुत आधारः जनताको विश्वास बढ्दो
झापा ५ का जनता जागरूक रहेको र पपुलिजमको प्रभावमा नपर्ने पार्टीको विश्लेषण छ । दाङमा विगतका गठबन्धन हुँदा पनि न्युन मतान्तरले हारेको स्मरण गर्दै यसपटक दाङले राष्ट्रिय राजनीतिमा निर्णायक भुमिका खेल्न शंकर पोखरेललाई जिताउने निष्कर्षमा जनता पुगेको महशुस गरेको उनले बताए ।
दाङ चार लेनको सडकः एमालेको निर्णायक पहल
दाङको फोरलेन निर्माण भारतीय एक्सिम बैंकको ऋणमा जटिलता आएपछि पोखरेलले आफैंले मन्त्रालयसँग छलफल गरी नेपाल सरकारकै स्रोत बाट अघि बढाउने निर्णय गराएका थिए । ‘अहिले कामले गति लिएको छ, दंगालीहरू आशावादी छन् ,” उनले भने । यो परियोजनालाई गेम चेन्जर को रूपमा प्रस्तुत गरिएको उनकाे भनाई छ ।
चुनावी आँकलनः एमाले पहिलो स्थानमा, लोकप्रिय मत ३०–३४ प्रतिशत पुग्ने
एमाले पहिलो स्थानमा आउने दाबी गर्दै पोखरेलले भदौ २३/२४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको विश्लेषण गरे ।
“विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ । मत विभाजनले बहुमत वा लार्जेस्ट पार्टी बन्ने सम्भावना उच्च छ,” उनले भने। मुख्य प्रतिष्पर्धा काङ्ग्रेससँग रहेको र रास्वपाको प्रभाव जित्ने तहसम्म नपुगेको आँकलन छ ।
शहरी क्षेत्रमा रास्वपाको प्रभाव घट्दै
काठमाडौं जस्ता प्रमुख शहरहरूमा रास्वपाको शुरुवाती जोश अब कमजोर हुँदै गएको उनले बताए । महासचिव पोखरेलकाअनुसार पार्टीको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको थियो । बालेन साहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको थियो । तर हाल सहकारी ठगी जस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाले गर्दा शहरी मत घट्ने पोखरेलको अनुमान छ । काठमाडौंमा रास्वपा अब प्रतिष्पर्धामा कमजोर वा छैन भन्ने विश्लेषण नै चलेको उनको भनाइ छ । जुन पार्टीको उद्गम स्थल भएको ठाउँमा अनौठो लाग्नसक्ने उनको भनाइ छ ।
ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव बढ्दै तर सिमित
ग्रामिण क्षेत्रमा भने रास्वपाको प्रभाव पहिलेको तुलनामा बढेको देखिएको उनले बताए । पार्टीले गाउँगाउँमा संगठन विस्तार गरेको छ । युवा तथा स्थानीय असन्तुष्टिमा ध्यान दिएको छ र जागरण फैलाएको छ । मत प्रतिशतमा सुधार आउने सम्भावना छ । तर यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन । संगठनात्मक कमजोरी, पुराना दलहरूको गहिरो जरा, स्थानीय नेटवर्कको अभाव र ग्रामिण मतदाताको परम्परागत बानीले गर्दा निर्णायक जित हासिल गर्न गाह्रो रहेको उनले बताए । उनका अनुसार प्रभाव बढेको छ, तर जित्ने स्तरमा पुग्न अझै बाँकी छ ।
नेपाली काँग्रेसलाई कमजोर ठान्नु गल्ती
महासचिव पोखरेलले नेपाली काँग्रेसलाई प्रचार कम भएकै कारण कमजोर ठान्नु नहुने बताए । यो देशको सबैभन्दा पुरानो पार्टी हो, जसको तल्लो तहका कमिटीहरूमा बलियो आधार छ । साइलेन्ट मतदाता (चुपचाप मत दिने, प्रचारमा नदेखिने तर निर्णायक हुने) को ठूलो हिस्सा काँग्रेसकै पक्षमा रहने अनुमान छ । हालका राष्ट्रिय सभा निर्वाचन जस्ता परिणामले पनि काँग्रेसको आधार प्रमाणित गरेको छ । शहरी क्षेत्रमा रास्वपा कमजोर हुँदा काँग्रेसले त्यहाँ फाइदा लिनसक्छ, ग्रामीणमा त यसको जरा पहिल्यै गहिरो छ । प्रचार कम गरे पनि संगठन र मतदाता आधारले काँग्रेसलाई मजबुत बनाइराख्ने पोखरेलको दाबी छ ।
