रवि–बालेन एउटा गाडीका दुई पाङ्ग्रा, बालेनको क्रेजले रवि गुमनाम छैनन् : राजुनाथ पाण्डे (भिडियो)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पार्टी राजनीतिमा सक्रिय भएपछि छायाँमा परेको टिप्पणीलाई बालेनकै निकटस्थ मानिने राजुनाथ पाण्डेले अस्वीकार गरेका छन् ।
उनले रवि र बालेन एउटै गाडीका दुई पाङ्ग्रा भन्दै दुई नेता बिना रास्वपा अघि बढ्न नसक्ने जनाउ दिए ।
उनले भने, ‘हाम्रो पार्टी सभापति उपचारको क्रममा हुनुहुन्छ । पार्टी सभापतिज्यू र वरिष्ठ नेता एक हुनुहुन्छ, एउटा गाडीका दुई पाङ्ग्रा हुुन् । यसमा भ्रम छरेर खेती नगर्नु हुन अनुरोध छ ।’
यही ५ माघमा सभापति लामिछानेको खुट्टामा चोट लागेको थियो । त्यस दिन उनी जनकपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्न गएका थिए ।
त्यसबेला खुट्टामा चोट लागे पनि उनी आफ्नो चुनाव क्षेत्रमा केही दिन सक्रिय रहे ।
तर, खुट्टा झन् झन् दुख्दै गएपछि उनी अस्पताल पुगेका थिए, जहाँ उनलाई चिकित्सकले ‘सेलुलाइटिस’बाट संक्रमित भएको बताए ।
त्यसको उपचार गरेर लामिछानेको बिहीबार डिस्चार्ज भएको छ । तर, कतिपयले भने बालेनको क्रेजले सभापति रवि छायाँमा परेको टिप्पणी गरेका थिए ।
