राप्रपाबाहेक सबै दल प्रचण्डपथमा, ती दलहरूका हिरो प्रचण्डजी हुन् :रवीन्द्र मिश्र (भिडियो)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता रवीन्द्र मिश्रले नेपालको राजनीति दुई धारमा विभाजित रहेको दाबी गरेका छन्।
उनका अनुसार अहिले देश प्रचण्डपथ र पृथ्वीपथ भन्ने दुई वैचारिक धारमा उभिएको छ।
मिश्रले भने, ‘नेपालको राजनीति दुई धारमा छ—एउटा प्रचण्डपथमा र अर्को पृथ्वीपथमा। हामीबाहेक नेपालका सबै दलहरू प्रचण्डपथमै छन्।’
उनका अनुसार चाहेर वा नचाहेर प्रचण्ड नै वर्तमान राजनीतिको ‘हिरो’ बनेको अवस्था छ।
नेपाली कांग्रेसप्रति संकेत गर्दै उनले राजसंस्थाप्रति उदार रहेको बीपी विचारधारा छाडेको आरोप लगाए। उनले भने, “बीपीले आठ वर्ष जेल बसेर, दुई तिहाइको सरकार अपदस्त गर्दा पनि मेरो घाँटी र राजाको घाँटी जोडिएको छ भनेका थिए।”
मिश्रले कांग्रेस, एमाले, नेकपासहित पुराना तथा नयाँ सबै दलहरूको आलोचना गरेर मात्र देशको समस्या समाधान नहुने धारणा राखे। राजसंस्था आलोचना गर्न जरुरी नभएको बताए ।
“राजसंस्थाले विगतमा केही कमजोरी गरे, दलहरूले पनि कमजोरी गरे,” उनले भने, “अब कमजोरी कोट्याएर बस्ने बेला होइन।”
उनले निरन्तर राजनीतिक अस्थिरताले देशको अस्तित्वमै संकट आउन सक्ने चेतावनी दिँदै विगतका अनुभव आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए।
परम्परागत शक्तिको प्रतीकका रूपमा राजसंस्थालाई नयाँ ढंगले बुझ्नुपर्ने मिश्रको भनाइ छ।
