यो चुनाव शासन प्रणाली बदल्ने ऐतिहासिक मौका हो :उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान निर्वाचनलाई शासन प्रणालीको चरित्र परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रित गरेका छन् ।
सप्तरी–३ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवा पुस्ताको बढ्दो चेतना, प्रश्न गर्ने साहस र जवाफदेही शासनप्रतिको मागलाई केन्द्रमा राख्दै नीतिगत सुधारमार्फत परिवर्तन कार्यान्वयन गर्न जसपा नेपाल प्रतिबद्ध रहेको बताए ।
उनले युवाहरू पारदर्शी निर्णय प्रक्रिया, सार्वजनिक खर्चको खुला विवरण र राजनीतिक हस्तक्षेपबाट मुक्त सरकारी संयन्त्र चाहेको उल्लेख गर्दै सुशासनबिना विकास सम्भव नहुने स्पष्ट पारे । भ्रष्टाचार नियन्त्रण नगरी लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो ।
युवा पुस्ताले बेरोजगारी, अवसरको अभाव र अनिश्चित भविष्यको भार बोक्नुपरेको भन्दै यादवले यही आक्रोश र अपेक्षालाई सम्बोधन गर्न जसपा नेपाल अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध कठोर एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताए ।
साथै, जसपा नेपालले चुनावी घोषणापत्रमार्फत विगतदेखि वर्तमानसम्म भएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष, स्वतन्त्र र तथ्यमा आधारित छानबिन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको पनि उनले जानकारी दिए ।
