साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
कास्की। घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । बङ्गलादेशलाई जित दिलाउन अल्पी अख्तरले ह्याटिक गरिन् ।
खेल सुरु भएको तेस्रो मिनेटमै प्रोतिमा मुण्डाको गोलमार्फत अग्रता बनाएकामा पहिलो हाफको इन्जुरी समयमा अक्तरले अग्रता दोब्बर पारिन् ।
नेपाल पहिलो हाफमा दुई गोलले पछि परेपछि दोस्रो हाफमा खेलमा फर्कन सङ्घर्ष गरिरहेको थियो । खेलको ६७औँ मिनेट र ८२ औँ मिनेटमा अख्तरले गोल गरेपछि बङ्गलादेश फाइनलमा पुग्न सफल भयो ।
लिगका तीनवटै खेल जितेर शीर्ष स्थानमा रहन सफल भएको बङ्गलादेशले अब प्रतियोगिताको उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले आजनै सम्पन्न लिगचरणको पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो ।
प्रतियोगितामा दुई जित र एक हार बेर्होरेको भारत ६ अङ्क जोडेर फाइनल पुगेको हो । लिग चरणका शीर्ष दुई टोली भारत र बङ्गलादेशकाबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको दुई खेलमा हार र एउटामा जित निकालेको नेपालले तीन अङ्क जोड्दा भुटानले कुनै पनि अङ्क जोड्न सकेन ।
