दमक भ्युटावर: बन्न सक्छ पूर्वको समृद्धिको आधार (भिडियो)
काठमाडौं। पूर्वी नेपालको झापा जिल्लास्थित दमक नगरपालिकामा उभिएको दमक भ्यु टावर केवल एक अग्लो संरचना मात्र होइन, विकासको केन्द्र बन्न सक्ने परियोजना हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा ‘समृद्ध नेपाल’ को दीर्घकालीन आधार निर्माण गर्ने सोचसहित त्यहाँ कै स्थानीय जनताको जग्गादान पछि यसको शिलान्यास गरेका थिए। उनको दृष्टिमा यो परियोजना केवल दृश्यावलोकनका लागि बनाइएको टावर नभई आर्थिक गतिविधि र शहरी विस्तारको आधार स्तम्भका लागि बनाइएको थियो।
१ अर्ब ६३ करोड रुपैयाँ लागतमा निर्माण भएको यो बहुउद्देश्यीय भवनमा कमर्शियल रिटेल स्पेस, कर्पोरेट अफिस, प्रदर्शनी हल, ग्यालरी, रेस्टुरेन्ट तथा क्याफे सञ्चालन गर्न मिल्छ । टावरको वरिपरि बगैँचा, बालबालिकाका लागि खेल क्षेत्र र पार्किङ सुविधा पनि राखिएको छ। विश्वका धेरै देशहरुले अपनाएको मोडेल जस्तै यसको अवधारणा दमकको भीडभाड भएको पुरानो बजार क्षेत्रलाई सन्तुलन गर्दै नयाँ शहरी केन्द्र विकास गर्ने थियो।
यो टावरलाई औद्योगिक दृष्टिकोणसँग पनि जोडेर हेरिएको छ । दमक, गौरादह र कमल क्षेत्र समेटेर प्रस्तावित चीन-नेपाल मैत्री औद्योगिक पार्कको योजनासँग यसको सम्बन्ध रहेको बताइन्छ। करिब ६४ अर्ब रुपैयाँ अनुमानित लगानी र १० हजारभन्दा बढी रोजगारी सिर्जनाको लक्ष्यसहित अघि बढाइएको यो अवधारणाले बहुराष्ट्रिय उद्योगहरू भित्र्याउने लक्ष्य राखेको थियो। सोही सन्दर्भमा ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र र जिनपिङ संयुक्त निर्माण कम्पनीसँग सहकार्यको प्रक्रिया पनि अघि बढाइएको थियो। टावरलाई सम्भावित उद्योगहरूको कर्पोरेट तथा प्रशासनिक केन्द्रका रूपमा हेरिएको छ ।
तर, भदौ २३ र २४ गते देशभर फैलिएको अशान्तिपूर्ण घटनाक्रले यो संरचना पनि जोगिन सकेन । आन्दोलनमा गएको आक्रोशित भीडले टावरमा तोडफोड र आगजनीको प्रयास गर्यो। टावरको बाह्य भागमा क्षति भएपनि स्वचालित अग्नि नियन्त्रण प्रणालीका कारण ठूलो क्षति हुन पाएन। तर, सञ्चालनको सुरुआती चरणमै यो परियोजना अवरुद्ध भएको छ । यससँगै भर्खरै खुलेको आर्थिक सम्भावनाको ढोका अनिश्चितकालका लागि बन्द भएको अनुभूति स्थानीयवासीले गरिरहेका छन् ।
टावरको विषयमा अहिले राष्ट्रिय स्तरमा तीव्र रुपमा सार्वजनिक बहस पनि भइरहेको छ । कतिपयले यसलाई अनावश्यक खर्च र राजनीतिक प्रतीकका रूपमा व्याख्या गरेका छन् भने समर्थकहरूले दीर्घकालीन पूर्वाधार सोचको हिस्सा मानेका छन्। आलोचना र समर्थन दुवै लोकतान्त्रिक समाजका स्वाभाविक पक्ष हुन्। तर, यस्ता संरचनाको मूल्याङ्कन लागत,लाभ विश्लेषण, पारदर्शिता र दीर्घकालीन उपयोगिताका आधारमा हुनुपर्छ ।
आज दमक भ्यु टावर विवादको घेरामा छ। तर, भविष्यमा यदि यो क्षेत्रको औद्योगिक पार्कले गति लियो, आर्थिक गतिविधि विस्तार भयो र रोजगारी सिर्जना भयो भने यही संरचना नयाँ दमकको प्रतीक बन्न सक्ने सम्भावना पनि छ। इतिहासले कुनै परियोजनालाई राजनीतिक नाराभन्दा परिणामका आधारमा मूल्याङ्कन गर्छ र परिणाम देख्न धैर्यता चाहिन्छ। निर्माण गरेका संरचना आपसी वैमनस्यताका कारण ढाल्दै र भत्काउँदै जाने हो भने परिणाम शुन्य हुन्छ। जहाँबाट हजारौ नागरिकले रोजगारीको प्रत्याभुती गर्छन्, त्यस्ता संरचना भत्काउनु भनेको नागरिकको भविष्य र देशको औधोगीकरणमा बन्चरो हान्नु हो।
भिडले सत्य केहो तय गर्दैन तर भ्रम सिर्जना गर्ने प्रयत्न भने अवश्य गरिरहेको हुन्छ। आज त्यही भ्रमले दमक भ्यु टावर आक्रमणकारीको आक्रमणबाट छियाछिया भएको छ। प्रश्न केवल एउटा टावरको होइन दृष्टिको हो र त्यो दृष्टिको परिणाम कस्तो आउँछ भन्ने कुरा समयको कडीले तय गर्छ ।
