सरकारी वेबसाइटहरूमा अपांगमैत्री बनाउने सुविधा लागू
काठमाडौं। सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।
सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यो प्रणालीले विशेषगरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिएका छन्।
विभागका अनुसार अब सरकारी वेबसाइटहरू ‘किबोर्ड’को प्रयोगबाट मात्र पनि सजिलै सञ्चालन गर्न सकिनेछ। प्रयोगकर्ताले ‘माउस’ प्रयोग नगरी वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, ‘स्किप नेभिगेसन’ लिंक राखिएकाले किबोर्ड तथा ‘स्क्रिन रिडर’ प्रयोगकर्ताले सिधै मुख्य विषयवस्तुमा पुग्न सक्ने सुविधा पनि थपिएको छ।
वेबसाइटमा रहेका सबै महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ समावेश गरिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ।
साथै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू अब स्पष्ट रूपमा सुन्न र बुझ्न मिल्ने बनाइएको छ। सर्च तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र संकेत राखिएकाले प्रयोगमा सहजता आउने विभागले जनाएको छ।
किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा रहेको भन्ने स्पष्ट देखिने दृश्य संकेतसमेत समावेश गरिएको छ।
फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडरमार्फत सजिलै बुझ्न सकिने व्यवस्था गरिएको छ।
विभागका महानिर्देशक साहका अनुसार यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि धेरै परिवर्तन जस्तो नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुनेछन्। उनले यस्ता पहुँचमैत्री सुधारले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई बलियो बनाउने बताएका छन्।
