चीन–जर्मनी सम्बन्ध ‘नयाँ उचाइ’ तर्फ
म्युनिख, ३ फागुन । युरोपेली सङ्घ(इयु)ले चीन र संयुक्त राज्य अमेरिका दुवैप्रति आफ्नो निर्भरता पुनःमूल्याङ्कन गरिरहेका बेला बेइजिङले जर्मनीसँगको सम्बन्धलाई ‘नयाँ स्तरमा’ पु¥याउने स्पष्ट सङ्केत दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग भेटवार्ता गर्दै द्विपक्षीय रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको बताएका छन्।
बेइजिङको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार वाङले ‘सर्वाङ्गीण रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन’ जर्मनीसँग मिलेर काम गर्ने अपेक्षा व्यक्त गरे । उनले बर्लिनको सहयोगमा उच्चस्तरीय आदान–प्रदानको अर्को चरणको तयारी गर्न चाहेको पनि स्पष्ट गरे ।
चीनले आफूलाई इयुका लागि स्थिर र भरपर्दो साझेदारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । युरोपेली मुलुकहरू एकातिर चीनसँगको आर्थिक सम्बन्ध सन्तुलित बनाउन र अर्कातिर अप्रत्याशित अमेरिकी नीतिबाट दूरी कायम गर्न खोजिरहेका छन् ।
यद्यपि पछिल्ला वर्षहरूमा अनुचित व्यापार अभ्यास, संरक्षणवाद र बजार पहुँचसम्बन्धी विवादले दुई देशबीचको गहिरो आर्थिक सम्बन्धमा चिसोपन आएको छ । यसै सन्दर्भमा मेर्ज यही महिनामा चीनको औपचारिक भ्रमण गर्ने तयारीमा रहेको बताइएको छ । भ्रमणका क्रममा विकसित व्यापारिक सम्बन्धलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख मुद्दा रहने अपेक्षा गरिएको छ ।
वाङले जर्मनीलाई आफ्नो ‘रणनीतिक स्वायत्तता र आत्मनिर्भरता’ कायम राख्न प्रोत्साहन दिँदै चीन–युरोप सहकार्यमा जर्मनीले प्रेरक शक्ति बन्न सक्ने उल्लेख गरे । साथै उनले जर्मनीलाई रणनीतिक सम्बन्धका लागि ‘विश्वसनीय सहारा’ को भूमिकामा देख्न चाहेको धारणा व्यक्त गरे ।
यसअघि जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले डिसेम्बरमा बेइजिङ भ्रमण गरी वाङलगायत चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनले युक्रेनमा जारी रुसको युद्ध अन्त्य गर्न चीनले आफ्नो प्रभाव प्रयोग गर्नुपर्ने विषय उठाएका थिए । वाडेफुलको अघिल्लो चीन भ्रमण भने अन्तिम समयमा रद्द भएको थियो, किनकि जर्मनीले उच्च अधिकारीहरूसँग भेटघाटको सुनिश्चितता गर्न नसकेको जनाएको थियो ।
