भण्डारीको पुनरागमनपछि दोलखामा एमाले उत्साही पार्वतलाई सहज
दोलखा। नेकपा (एमाले) दोलखाका संस्थापक नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन्।
उनकी श्रीमती कल्पना भण्डारी तथा भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्त बस्नेतसहितका कार्यकर्ता पनि सोमबार एमालेमा फर्किएका छन्। भण्डारी एमाले दोलखाको दुई कार्यकाल पार्टी प्रमुख, पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य तथा पूर्व जिविस उपसभापतिसमेत भइसकेका व्यक्तित्व हुन्।
बिहान आयोजित पुनर्मिलन कार्यक्रममार्फत संस्थापक नेता भण्डारीसहितलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो। कार्यक्रममा एमाले उम्मेदवार तथा पूर्व मन्त्री पार्वत गुरुङ, पार्टी नेता तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्यहरू रचना खड्का र श्यामकुमार बस्नेत, पार्टीका संस्थापक नेताद्वय जीतविर लामा र लालकुमार केसीलगायत जिल्लाका अगुवा नेता–कार्यकर्ता सहभागी थिए।
पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजय हासिल गर्न सकिने बताए। उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्तालाई समन्वय र सहकार्यसहित सक्रिय बन्न आह्वान गरे।
‘अब विभाजन र अन्तर्विरोध होइन, एकताको सन्देश लिएर जनताको घरदैलोमा पुग्नुपर्छ,’ उनले भने।
उनले आगामी निर्वाचनमा एमाले उम्मेदवार पार्वत गुरुङलाई विजयी गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। ‘दोलखाको विकास र स्थायित्वका लागि एमालेको जित आवश्यक छ,’ उनको भनाइ थियो।
चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी)मा पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिए। पार्टी महाधिवेशन हुँदा उनी घनश्याम भुषाल प्यानलबाट उपमहासचिवको उम्मेदवार पनि बनेका थिए। एमालेलाई बाइपास गरेर माओवादीसँग मात्र मिल्ने अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पंक्तिको निर्णयमा असहमत भण्डारीलाई समर्थन गर्ने दोलखाको बहुसंख्यक हिस्सा एकतामा सामेल भएको थिएन।
एक पालिका प्रमुख, एक उपप्रमुख र वडाध्यक्षसहित जनप्रतिनिधि जितेको तत्कालीन नेकपा एसका अधिकांश नेता–कार्यकर्ता एमालेलाई सघाउने निष्कर्षमा पुगेका छन्। काठमाडौंस्थित सम्पर्क मञ्चका पूर्व नेतृत्वहरूले पनि भण्डारीलाई नै साथ दिँदै आएका छन्। उनको फिर्तीसँगै माओवादीसँग मिलेर बनेको नेकपामा सामेल छिटफुट नेता–कार्यकर्ता पनि घर फर्किने निर्णय लिने दिशामा रहेको बताइएको छ। यसले ०४८ देखि नै गढका रूपमा चिनिएको दोलखामा फेरि फराकिलो जितका लागि अनुकूल वातावरण बन्दै गएको एमालेले आन्तरिक विश्लेषण गरेको छ।
पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको कार्यक्रममा भण्डारीले बताए।
पार्टी नेताहरूले भण्डारीसहित अन्य नेताहरूको पुनरागमनले दोलखामा एमालेको संगठन थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्। पुराना नेताहरूको अनुभव र कार्यकर्तामाझको प्रभावले आगामी चुनावी अभियानमा सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
केही दिनअघि मात्र तत्कालीन युवा संघ जिल्ला सचिवसहित एक दर्जन युवाको जिल्ला नेतृत्व एमालेमा प्रवेश गरेको थियो। त्यस्तै, तत्कालीन नेकपा एसकै उद्योग व्यवसायी महासंघका उपमहासचिव प्रकाश कटुवालले पनि नेकपा परित्याग गरेका थिए। पार्टी फरक हुँदा पनि ०७९ को स्थानीय निर्वाचनदेखि नै कटुवालले एमालेलाई सहयोग गर्दै आएका थिए।
