`

डाेल्पादेखि ताप्लेजुङसम्मका ६१ मतदान केन्द्रबाट मतपेटिका ढुवानी हेलिकप्टरबाट

Nepal One HD २० फागुन २०८२ १५:५६
अर्थ समाचार

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।

भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्‍याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतकाअनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ, जसमा डोल्पाका २३ वटा र हुम्लाका ४ वटा मतदान केन्द्र रहेका छन् ।

मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिए ।

ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थानबाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका संकलन गरिनेछ ।

मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ ।

उनले भने, ‘हामीले हुम्ला र डोल्पा जिल्लाको जम्मा २३ वटा डोल्पाको र ४ वटा हुम्लाको गरेर २७ वटा स्थानमा हेलिबाटै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरु पठायौँ र त्यसमा अब १५ अरु थप १५ जिल्लाहरुको ६१ स्थानबाट यो मतदान केन्द्र धेरै हुन्छन् तर ६१ स्थानबाट ताप्लेजुङ्ग देखि दार्चुलासम्मका ६१ स्थानबाट यो मतदान पछाडिको यो ब्यालेट बक्सहरु  हेलिबाट संकलन हुन्छ भने अरु सवारी साधनबाट संकलन गर्ने सन्दर्भमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्वाचन आयोगले ढुवानीको रकम पठाएको छ ।’

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकायहरूको समन्वय रहने गरी ढुवानी कार्ययोजना बनाइएको सचिव राउतले बताए ।

सोही कार्ययोजना अनुरूप मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी देशभर तय गरिएका १ सय ६५ वटा मतगणना स्थलहरूमा सुरक्षित रूपमा ल्याइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *