काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा ओलीप्रति गाैरव प्रकट गर्दै आफूलाई भाग्यमानी ठानेका छन् ।
ओलीले बस्नेतलाई बालकाेटस्थित महेन्द्र शान्ति विद्यालय पुगेर मतदान गरेका थिए । मतदानपछि बस्नेतले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आएर आफूलाई मतदान गर्नु गर्वको विषय भएको बताए ।
‘मेरो लागि त गौरवको कुरा हो। मेरो पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्रीका रूपमा पार्टीले निर्णय गरेको व्यक्तित्वले मेरो निर्वाचन क्षेत्रमा आएर मलाई मतदान गर्ने जुन सौभाग्य मैले प्राप्त गरेको छु, यो मेरो लागि एउटा गौरवको विषय हो,’ उनले भने।
बस्नेतले ओलीलाई नेपाली राजनीतिका ‘आइकन’का रूपमा चित्रण गर्दै उनको लोकप्रियता र आकर्षण अझै कायम रहेको दाबी गरे। ‘केपी शर्मा ओलीजी नेपालको राजनीतिका एउटा आइकन हो। निकै आकर्षणको केन्द्र हो उहाँ। उहाँलाई हेर्न आम मतदाता निकै धेरै आकर्षित छन् र मिडियाहरूको पनि निकै ठूलो चासो छ,’ उनले बताए।
उनले कसैले नचाहँदैमा ओलीको सानमान र क्रेज नघट्ने दाबीसमेत गरे।
‘केपी ओली कसैले नचाहँदैमा उहाँको सानमान र क्रेज घट्छ भन्ने मलाई लाग्दैन। उहाँ नेपाली राजनीतिका समकालीन नेतामध्ये सबैभन्दा उत्कृष्ट, चर्चित र राजनेताको छवि भएका नेता हुनुहुन्छ,’ बस्नेतले ओलीकाे बखान गरे ।
